-भक्तराज रसाइली
काठमाण्डौ । लिङ्ग्वा क्यापिटलले सेयर कारोबार गर्ने र डिम्याट खाता खोल्ने भन्दै कयौं सर्वसाधारणलाई ठगी गरिरहेको पाइएको छ ।
मोरङको उर्लाबारीमा अवस्थित लिङ्ग्वा क्यापिटल बताउने एक कम्पनीले स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीज र प्रभू क्यापिटलको नाम लिएर गैरकानूनी धन्दा चलाएको भेटिएको हो।
स्टक ब्रोकर नम्बर ३९, सुमेरु सेक्युरिटीज र प्रभु क्यापिटलको हवाला दिंदै सेयर कारोबार गरिदिने र डिम्याट तथा ‘मेरो सेयर’ खोलिदिने भन्ने भ्रम छर्र्दै रकम असुल गरेको छ । मोरङको उर्लाबारीमा अवस्थित लिङ्ग्वा क्यापिटल इन्भेष्टमेन्ट मेनेजमेन्ट कम्पनीले सुमेरु सेक्युरिटीज र प्रभु क्यापिटलसँग सम्झौता गरी सेयर खरिदबिक्री गर्न एजेन्सीको काम गरिरहेको दाबी गर्दै आफ्ना सेवाहरुको विषयमा तीव्र प्रचारप्रसार गरिरहेको छ ।
केही दिनयता सो लिङ्ग्वा क्यापिटलले फेसबुकमा विज्ञापन गरिरहेको र सो कम्पनीमा उल्लेख भएको नम्बरमा बिजशालाले सम्पर्क गर्दा आफूलाई फण्ड मेनेजर बताउने पेमा तामाङले फण्ड मेनेजमेन्ट कम्पनी भएको जानकारी दिए । तामाङले बिर्तामोडस्थित सुमेरु सेक्युरिटीजसँग सहकार्य गर्दै सेयर किनबेच गरिदिने गरेको दाबी गरे । उनले प्रभू क्यापिटलसँग पनि सम्झौता गरी डिम्याट खाता खोलिदिने सेवा गरिरहेको जिकिर गरे । तामाङका अनुसार लिङ्ग्वा क्यापिटलबाट हाल करिब ४ हजार ग्राहकहरुले सेवा लिइरहेका छन् ।
लिङ्ग्वा क्यापिटलले हाल इन्भेष्टिङ ,फाइनान्सिङ र एड्भाइजिङ सेवा प्रवाह गरिरहेको फेसबुक पेजमार्फत जानकारी दिइएको छ । हाल सो कम्पनीको उक्त फेसबुक पेजलाई बुष्ट गरिरहेको र सो पेजमा १७ सय भन्दा बढीले लाइक गरिसकेका छन् ।
लिङ्ग्वा क्यापिटलको फेसबुक पेजमा शिवचन्द्र भन्ने व्यक्तिले सेबोनबाट आधिकारिक रुपमा अनुमति प्राप्त हो कि हैन ? भन्ने प्रश्नमा क्यापिटलले हालसम्म अनुमति प्राप्त नभएको बताउँदै सुमेरु सेक्युरिटीजसँग सेयर कारोबार र प्रभु क्यापिटलसँग डिम्याट खाता तथा ‘मेरो सेयर’ खोल्न जोइन्ट भेञ्चर काम गरिरहेको प्रतिक्रिया दिएको छ ।
यता, सुमेरु सेक्युरिटीजका सञ्चालक प्रेमकुमार अग्रवाल भने आफूले कुनै पनि कम्पनीलाई हालसम्म एजेन्सी नदिएको जिकिर गर्छन् । यस विषयमा आफूलाई समेत अन्य कुराहरु थाहा नभएको उनको दाबी छ । हालसम्म उक्त क्यापिटलसँग कुनै सम्बन्ध नरहेको उनले बताए ।
यसैगरी लिङ्ग्वा क्यापिटलले प्रभू क्यापिटलसँग पनि सहकार्य गरी मात्र रु.९९ मा डिम्याट खाता खोलिरहेको विषयमा क्यापिटलका सीइओ दिनेश थकालीले आफूलाई जानकारी नभएको बताए । ‘सो क्यापिटलसँग कानूनतः सहकार्य गर्न नै नमिल्ने भएकाले हालसम्म हामीसँग कुनै सम्बन्ध र सहकार्य छैन।’–सीइओ थकाली भन्छन् ।
नियमतः क्यापिटलबाट प्रवाह हुने सेवाहरु माउ कम्पनी(बैंक वा शाखा कार्यालय)बाट भने सेवा प्रवाह हुन पाउने व्यवस्था छ । यस्तै ब्रोकर कम्पनीको हकमा पनि काठमाण्डौस्थित मुख्य कार्यालय र बोर्डबाट अनुमतिप्राप्त मोफसलका शाखाबाहेक अन्त कतैबाट ब्रोकरेज सेवा प्रवाह गर्न नपाइने व्यवस्था छ ।
हाल देशभर आधिकारिक ब्रोकरका रुपमा ५० वटा ब्रोकर कम्पनी छन्, जसको उपत्यकाबाहिर ४७ शाखाहरुमार्फत सेयर खरिदबिक्रीको सेवा दिइरहेका छन् ।
नेपाल धितोपत्र बोर्डले समेत हालसम्म कुनै पनि ब्रोकरलाई एजेन्सी वा आधिकारिक प्रतिनिधिको व्यवस्था गरेको छैन । तर धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले कमजोर अनुगमनका कारण एजेन्सीसम्बन्धी काम गरिहेको समेत पत्तो पाएका छैनन् ।
स्टक ब्रोकरले हाल केबल सेयर किनबेच गर्न र मार्जिन कारोबारको सुविधा मात्र प्रवाह गर्न पाउने व्यवस्था छ । उपत्यका बाहिरका शाखाले समेत बोर्डको निश्चित पूर्वाधार र मापदण्डलाई टेकेर कार्यालय स्थापना गर्नुपर्ने हुन्छ, जसको स्थलगत सुपरीवेक्षण नेप्से र सेबोन दुवैले गर्नुपर्छ ।
लिङ्ग्वा क्यापिटलको गैरकानूनी धन्दाका विषयमा नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले हालसम्म लिङ्ग्वा क्यापिटलले बोर्डबाट अनुमति प्राप्त नगरेको र यस विषयलाई गम्भीरतापूर्वक छानबिन गर्ने बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19