काठमाण्डौ । भारतमा यतिबेला कोरोनाको सुनामी आइरहेको छ। कोरोनाबाट हुने मृत्यु बढ्दो आँकडाले भारतमा संक्रमणले डरलाग्दो रुप लिएको देखिन्छ।

यस्तै एउटा खबरले भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको प्रस्ट हुन्छ। भारतको पुणेमा ८ दिनको अवधिमा कोरोना संक्रमणबाट एकै परिवारका ४ सदस्यको मृत्यु भएको छ। मृतकमा आमा–बुवा र दुई छोरा छन्।

यो परिवारमा सबैभन्दा पहिला ठूलो छोरा संक्रमित भएका थिए। त्यसपछि उनको स्वास्थ्यावस्था नाजुक बन्द गयो। छोरामा देखिएको संक्रमण आमा–बुवासम्म पुग्यो अनि फेरि भाइ पनि यसको चेपेटामा परे। भाइको पत्नीलाई कोरोना संक्रमण देखियो। विस्तारै यो ज्यानमारा कोरोनाकै कारण आमा–बुवासहित दुई छोरा अन्तिम सास लिए। 

यो घटना पुणेको हडपसर इलाकामा भएको हो। सबैजना एउटै घरमा बस्थे। मृतकमा लक्ष्मण, सुमन, श्यामसुन्दर र विजय कोचेकर छन्। एउटै अस्पतालमा शय्या अभाव भएपछि उनीहरुको छुट्टाछुटै अस्पतालमा उपचार भइरहेको थियो। विस्तारै सबैको अवस्था गम्भीर बन्यो र पालैपालो ज्यान गुमाए। 

चिकित्सकहरुका अनुसार सबैभन्दा पहिले आमा सुमनको ज्यान गएको थियो। त्यसपछि उनका पति लक्ष्मण र पछि दुवै छोरा श्यामसुन्दर र विजयको मृत्यु भएको छ। अहिले जीवित रहेकी विजयकी पत्नीको फोक्सोमा कोरोना कारण ५० प्रतिशत इन्फेक्सन देखिएको छ। 

भारतको पुणेमा रहेका अस्पतालमा हाल १६ हजार संक्रमितको उपचार भइरहेको छ। त्यहाा अहिलेसम्म ११ हजार ७९० जनाको मृत्यु भइसकेको छ। यो मृत्युदर १.५४ प्रतिशत हो। त्यहाँ संक्रमणमुक्त हुने दर ८५.११ प्रतिशत रहेको छ। – एजेन्सी