काठमाण्डौ । नागरिक लगानी कोष(सीआइटी)को सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेड चौतर्फी दवाबपछि केही समयभित्रै आक्रामक रुपमा बजार प्रवेश गर्ने भएको छ ।

नागरिक स्टक डिलर कम्पनीका प्रबन्ध निर्देशक इन्द्र कट्टेलले मार्केट डिलर दर्ताका निम्ति नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डसँग अनौपचारिक छलफल भइरहेको जानकारी दिँदै आन्तरिक कार्यविधि फाइनल चरणमा रहेको बताए । 'हामीलाई चारैतिरबाट दवाब पनि छ।' प्रबन्ध निर्देशक कट्टेलले बिजशालासँग भने-'हामी आफैंलाई पनि निकै हतार छ मार्केट डिलरका रुपमा आउन ।'

आन्तरिक व्यवस्थापन, कर्मचारी व्यवस्थापन, आर्थिक विनियमावली निर्माण लगायतका कार्यहरु तीव्र गतिमा भइरहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक कट्टेल अब छिट्टै बोर्डले निर्णय गरी डिलर दर्ता प्रक्रियामा जाने बताउँछन् ।

केही महिनाअघिदेखि नागरिक लगानीकोषले आफ्नो सहायक कम्पनीको रुपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई धितोपत्रको दोश्रो बजारमा प्रवेश गराउने प्रक्रिया अगाडि बढाएको हो । यो कम्पनी, कम्पनी रजिष्टारको कार्यालयमा भने दर्ता भइसकेको छ। 

अर्थमन्त्री डा.युुवराज खतिवडाले नै धितोपत्र बजारमा मार्केट डिलरका रुपमा प्रवेश गर्न निर्देशन दिएसँगै ५ अर्ब रुपैयाँ फण्ड दोश्रो बजारमै लगानीका लागि तयारी अवस्थामा रहेको समेत बताइन्छ।