काठमाण्डौ । सेयर लगानीकर्ताको दवाब समूहले धितोपत्र बोर्डमा तालाबन्दी गरेको छ । 

दवाब समूहले आफ्नो पूर्वघोषित कार्यक्रममा केही संसोधन गर्दै जाउलाखेलस्थित धितोपत्र बोर्डमा तालाबन्दी गरिदिएको हो । 

उनीहरुले घोषणा गरेको कार्यक्रम अनुसार आइतबार धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गरी प्रदर्शन गर्ने भनिएको थियो।

तर, बोर्ड अध्यक्ष र कार्यकारी निर्देशकको निवास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेपछि दवाब समूहले पूर्व निर्धारित आन्दोलनको कार्यक्रममा परिवर्तन गरी बोर्डमा तालाबन्दी गरेको हो । 

'हामी लगानीकर्ताहरुले गर्ने प्रदर्शनलाई दमन गर्ने उद्देश्यले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपछि घर घेराउको कार्यक्रम छाडेर बोर्डमा आएर तालाबन्दी गरेका छौ ।' दवाब समूहका महासचिव नयन बास्तोलाले बिजशालासँग भने-'तालाबन्दीपछि हामी केही समय बोर्ड परिसरमै प्रदर्शन समेत गर्नेछौ ।' 

उनका अनुसार शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा लगानीकर्ता दवाब समूहले बजार सुधार र विकासका लागि उठाएका ३२ बुँदे मागपत्र दर्ता भएको छ । प्रधानमन्त्रीलाई भेटेर लगानीकर्ताको समस्या राख्ने दवाब समूहको कोशिश भने शनिवार सफल हुन नसकेको उनले प्रष्ट्याए । 

दवाब समूहले लगानी सम्मेलनलाई लक्षितगरी चैत ९ गतेदेखि ८ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

जसअन्तर्गत सिंहदरबार क्षेत्रमा विरोधस्वरुप कालो बेलुन उडाउनेदेखि लिएर नेप्सेका सीइओ र अध्यक्षको निवास घेरी प्रदर्शन गर्ने, लगानी सम्मेलनमा आएका पाहुनासँग छलफल गरी समस्या दर्शाउने, अर्थमन्त्री र प्रधानमन्त्री उपस्थित कार्यक्रम बहिस्कार गर्ने लगायतका छन् ।