काठमाण्डौ । यसपटकको दशैंमा काठमाण्डौबाट घर जानेका लागि असोज ५ गतेदेखि बसको टिकटको अग्रिम बुकिङ खुल्ने भएको छ । 

यातायात व्यवसायीको असहमतिका कारण भदौ २४ गतेदेखि नै खुल्ने भनिएको अग्रिम टिकटको बुकिङ यातायात व्यवस्था विभागको प्रयासपछि केही ढिलो खुल्ने भएको हो । 

विभागमा आइतबार यातायात व्यवसायीसँग छलफल भएको थियो । सो छलफलमा व्यवसायीहरु दशैंकको बस टिकटको अग्रिम बिक्री खुलाउन सहमति भएका हुन् । 

छलफलको क्रममा विभागका अधिकारीहरुले यातायात व्यवसायीले गरेको माग अनुसारभाडाको समायोजन दशैंअघि नहुने प्रष्ट पारेका थिए । यातायात व्यवसायी समितिको बैंक खाता खोल्नुपर्ने शर्तको बिषयमा समेत विभागले सहजीकरण मात्र गर्नसक्ने प्रष्ट्याएको थियो । 

सम्बन्धित निकायमा दुवै माग पूराका लागि पहल गर्ने विभागका अधिकारीहरुको प्रतिबद्धतापछि यातायात व्यवसायी दशैंको अग्रिम टिकट खुलाउन सहमति भएका स्रोतको भनाई छ । 

तर, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने सरकारले आफ्ना माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि दशैंको टिकटको अग्रिम बिक्री खुलाउन आफूहरु सहमत भएको दाबी गरेका छन् । उनका अनुसार असोज ४ गतेभित्र समितिले दशैं काउण्टर स्थापना गर्नेछ र ५ गतेदेखि अग्रिम बिक्री सुरु हुनेछ । 

राजधानीका बसपार्कमा रहेका काउन्टरबाट टिकट बुकिङ गर्न सकिनेछ । यसका लागि राजधानीका विभिन्न १२ स्थानमा काउण्टरहरुको व्यवस्था गरिनेछ । 

यात्रुहरु ठगीमा नपरुन् र उनीहरुलाई सहज होस् भन्ने उद्देश्यले ट्राफिक प्रहरीले प्रत्येक काउण्टर क्षेत्रमा यात्रु सहायता कक्ष राख्नेछ । 

राजधानीमा बसोबास गर्नेमध्ये प्रत्येक दशैंमा ६५ प्रतिशत भन्दा बढी सर्वसाधारण बाहिरिने गरेका छन् ।