काठमाण्डौ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित गोदाममा दशैंका लागि खसीबोका र च्याङ्ग्रा यही असोज २४ गतेभित्र आउने भएको छ । 

ती खसीबोका र च्याङ्ग्रा असोज २५ गतेदेखि बिक्रीवितरण गर्ने तयारी गरिएको छ । 

संस्थानका वरिष्ठ अधिकृत टेकप्रसाद रेग्मीका अनुसार यसपालिको दशैंका लागि संस्थानले हेटौंडाबाट १ हजार खसीबोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा ल्याउने र २५ गतेबाट सर्वसाधारणका लागि थापाथली गोदामबाटै बिक्री गर्नेछ ।

नेपाल सरकारको निर्णय बमोजिम अनपेक्षित बजारभाउ नियन्त्रण र सहुलियत मूल्यमा बेच्ने संस्थानको योजना छ । नेपाल सरकारले आजभोलिभित्र खसीबोकाको मूल्य निर्धारण गर्ने र उक्त मूल्यमा संस्थानले १० रुपैयाँ प्रतिकेजी छुट दिइने उनले थप खुलासा गरे । 

संस्थानले अन्य खाद्यान्न सामाग्रीमा सहुलियत मूल्यमा बिक्री पनि गरिरहेको छ । विगत वर्षहरुमा झैं यस दशैंतिहारका उपलक्ष्यमा सहुलियत पसल पनि सञ्चालन हुने र डिलर र सहकारीहरुलाई पनि संस्थानले तोकेको बिक्री मूल्यमा २.५ प्रतिशत कमिशन दिई खाद्यान्न बिक्री गरिने भएको छ । 

राजधानीका विभिन्न ४ ठाउँमध्ये थापाथली गोदाम, नख्खु गोदाम, जावलाखेल चोक र रामशाहपथमा रहेको साल्ट ट्रेडिङ्गबाट संस्थानको क्षमता र स्टक भएसम्म उपभोक्ता नफर्कने हिसाबले बजार मूल्यभन्दा निकै सस्तोमा बिक्रीवितरण भइरहेको रेग्मीको भनाई छ ।

नेपाल सरकारको मापदण्ड बमोजिम प्राविधिकले प्रमाणित गरेका नेट तौल भएको गुणस्तरीय सामान सहुलियत पसलमार्फत बिक्री भइरहेको उनले जानकारी दिए ।

बासमती, गोरखनाथ चामल र कर्णालीको सिमीमा प्रतिकेजी १० रुपैयाँ छुट र अरु खाद्यान्नमा ५ रुपैयाँ छुट रहेको उनले दाबी गरे । २/४ दिनभित्रै भैरहवाबाट गहुँ आएपछि गहुँ पनि बेच्ने योजना रहेको उनले सुनाए । 

संस्थानले अरुबेला १० बजेदखि ५ बजेसम्म र बिदाको दिन पनि सहुलियत पसल सञ्चालन गरिरहेको उनले बिजशालालाई बताए ।

विश्वसनीय तौल र गुणस्तरीय सामान मात्र सुपथ पसलमा उपलब्ध हुने उनको भनाई छ ।