काठमाण्डौ । लाभांश घोषणाको सिजनमा सेयर बजार दैनिकजसो भारी अंकले ओरालो लाग्न थालेपछि आमलगानीकर्ता द्विविधामा पर्न थालेका छन्।
आम रुपमा लाभांशको सिजनमा बजार उकालो लाग्ने गर्छ। तर अहिले दिनहुँ बजार घट्दा लगानीकर्ता अलमलमा परेका छन्। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जाको सीमा, तरलता र ब्याजदर बढ्नुले पनि बजार घट्न पुगेको केही बजार जानकारहरु बताउँछन्। केहीले भने बजार घट्नुका यीसँगै अन्य विविध कारणहरु दर्शाएका छन्। 

अर्थशास्त्री डा. मीनबहादुर क्षत्री सेयर बजार अहिले घट्नुको मुख्य कारण कोभिडको अवस्था सामान्य बन्दै जानु र अन्य क्षेत्र पनि चलायमान हुनु नै रहेको बताउँछन्। ‘कोभिड सेयर बजारबाहेक अन्य सबै क्षेत्र ठप्प प्रायः थियो, जसका कारण अन्य क्षेत्रमा संलग्नहरु पनि सेयर बजारमा भित्रिए’, उनले भने, ‘अहिले अन्य सबै क्षेत्र खुलेसँगै सेयर बजारमा कमाएको वा लगाएको पैसा पुनः आफ्नै व्यापार–व्यवसायमा फर्काएका छन्। यसले पनि सेयर बजार थोरै भए पनि असर परेको छ।’

डा क्षत्री अहिले बजार दिनहुँ घट्नुको अर्को कारण भने चलखेल नै रहेको बताउँछन्। ‘अहिले नियामक निकायहरु धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वविहीन छन्, सामान्य काम पनि हुन सकेको छैन’, उनले भने, ‘यसकै फाइदा उठाउँदै केही समूहले बजारमा खेल्ने काम गरिरहेका छन्, फस्ने भनेका साना र सोझा लगानीकर्ता नै हुन्।’

विभिन्न माध्यमबाट गरिने हल्लाले बजार प्रभावित भइरहेको क्षत्रीको तर्क । ‘राष्ट्र बैंकको सेयर धितो कर्जाको सीमाले पनि बजार प्रभावित भएको देखिन्छ’, उनले भने।

दसैँ अगाडि सेयर बजार सामान्य तलमाथि नै हुने अनुमान गर्छन्। ‘तर खासै आत्तिनुपर्ने अवस्था भने छैन, बजार लय अवश्यक फर्किनेछ’, उनले भने।
बजार जानकार प्रेम ओली यतिबेला बैंकको ब्याज तिर्नुपर्ने, दसैँ खर्च जोहो गर्नुपर्ने, ऋण नवीकरण गर्नुभन्दा सेटलमेन्टतिर लगानीकर्ताहरु लाग्दा बजारमा बिक्रीचाप परेको बताउँछन्। ‘यो साताभरि बजारमा यस्तै रहने सम्भावना छ’, उनले भने, ‘अर्को साताबाट बजारमा बिक्रीचाप घट्ने र बजार सम्हालिने अवस्था हुन सक्छ।’ 

यदि अर्को साता पनि बजारले लय नसमाते यो असोज महिनाभरि साइडवेजमै रहने सम्भावना रहने ओलीको भनाइ छ। ‘अनि कात्तिक लागेपछि मात्र बजारले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न सकिन्छ।’

अर्का बजार जानकार माधव भण्डारी निरन्तर बजार घटिरहेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेको हुन सक्ने बताउँछन्। केही खेलाडीहरु बजारलाई सक्दो तल झारेर सेयर उठाउने दाउमा पनि लागेको हुन सक्ने उनको भनाइ छ। 

बजार दिनहुँ घट्दा लगानीकर्ताको मनोबल पनि खस्किँदै गएको भण्डारीको भनाइ छ। ‘लगानीकर्ताको मनोबल नबढेसम्म बजार माथि जाने सम्भावना कमै छ, अब बजार फर्किनका लागि गुड न्युजकै आवश्यक छ’, उनले भने। 

ब्याज तिर्नुपर्ने, दसैँ खर्च जोहो गर्नुपर्ने आदि कारणले सेलिङ प्रेसर आउँदा पनि बजार घटेको भण्डारीको तर्क छ। ‘असोजभरि बजार साइडवेजमै रहने देखिन्छ’, उनले भने।