काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपालिकाको दसैँका लागि ३ हजार खसी, बोक र च्यांग्रा ल्याउने तयारी गरेको छ।
कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले हाललाई ३ हजार खसी, बोक र च्यांग्रा ल्याउने योजना रहेको बताइन्। ‘निर्णय भइसकेको छैन तर आन्तरिक योजना चाहिँ २ हजार खसीबोक र १ हजार च्यांग्रा ल्याउने बनाएका छौँ’, उनले भनिन्, ‘यसका लागि ६ करोड ४० लाख रुपैयाँ बढी लाग्ने प्रारम्भिक अनुमान गरेका छौँ।’
सुवेदीले खसीबोक हेटौँडा, सिरहा, नेपालगन्ज वा सुर्खेतबाट ल्याइने पनि बताइन्। ‘मूल्य कहाँ कति पर्छ, त्यहीअनुसार ल्याउँछौँ’, उनले भनिन्, ‘च्यांग्रा भने मुस्ताङबाट ल्याउने योजना बनाएका छौँ।’
सर्वसाधारण खसी, बोक र च्यांग्रामा कति छुट दिने भन्ने अहिले निर्णय भइनसकेको सुवेदीले बताइन्। ‘मन्त्रालयबाट निर्णय भएर आएपछि हामीले सोहीअनुसार छुट दिने हो’, उनले भनिन्, ‘पोहोरको दसैँमा प्रतिकेजी १० रुपैयाँ छुट दिएका थियौँ।’
खसी, बोक र च्यांग्रा बिक्रीवितरणको अघिल्लो दिनमात्र ल्याइने पनि सुवेदीले बताइन्। ‘घटस्थापनाको दिनबाट बिक्रीवितरण सुरु गर्ने योजना छ तर निर्णय भइसकेको छैन’, उनले भने।
सुवेदीका अनुसार सुपथ मूल्यको पसलहरु पनि घटस्थापनाको १५ दिनअघिबाट खोल्ने आन्तरिक योजना बनेको छ। यस्तो पसल खाद्यको कार्यालय भएको ठाउँ र मागअनुसार थप स्थानमा खोलिने उनले बताइन्। ‘साल्ट्र ट्रेडिङ र दुग्ध विकास संस्थाहरुसँग मिलेर पसलहरु सञ्चालन हुन सक्छ’, उनले भनिन्।
गत वर्ष दसैँलक्षित सुपथ मूल्यका पसल असोज १ गतेबाट खुलेका थिए। त्यतिबेला ३९ जिल्लामा ४३ स्टल र उपत्यकाभित्र थप केही स्थानमा पसलहरु सञ्चालन गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago