काठमाण्डौ । दसैँका लागि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने गर्ने निर्णय भएको छ। 

यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो। यातायात व्यवसायीहरुबीच अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ। अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले छुट वा सहुलियत पनि प्रदान गर्ने सहमति भएको छ। 

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ।

कोभिड महामारीलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने तथा यसका लागि यात्रुलाई खाना–खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्ने सहमति पनि भएको छ।

अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्ने र मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय पनि बैठकले गरेको छ। 

यातायात आवागमनमा सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधनहरु मिति १५ असोजदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाण्डांसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि बैठकले गरेको छ।