काठमाण्डौ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपालिको दसैँका लागि ३ हजारवटा खसी, बोका र च्यांग्रा ल्याउने तयारी गरेको छ। 

कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले दसैँका लागि ३ हजारवटा खसी, बोका र च्यांग्रा ल्याउने तयारी भइरहेको बताइन्। उनका अनुसार २ हजारवटा खसी र बोका तथा १ हजारवटा च्यांग्रा छन्। 

यो संख्या पोहोरको दसैँभन्दा धेरै हो। पोहोर कम्पनीले खसी, बोका र च्यांग्रा गरी कुल १ हजार ६२५ दसैँका लागि ल्याएको प्रवक्ता सुवेदीले जानकारी दिइन्। ‘पोहोर किलोमा १० रुपैयाँ छुट दिइएको थियो, यसपालि पनि १० रुपैयाँ नै छुट दिने कि भन्ने योजना तर निर्णय भइसकेको छैन’, उनले भनिन्। 

दसैँका लागि खसी–बोका हेटौँडा, नुवाकोट, तनहुँ र तुलसीपुरबाट तथा च्यांग्रा जुम्ला र हुम्लाबाट ल्याउने योजनामा कम्पनी रहेको छ। 

कम्पनीले खसी–बोका र च्यांग्रा ल्याउन सवा ८ करोड रुपैयाँ बढी छुट्याएको छ। ‘सरकारबाट स्वीकृति भएपछि घटस्थापनाका दिनसम्म खसी–बोका र च्यांग्रा काठमाण्डौ ल्याइनेछ’, सुवेदीले भनिन्। 

यसैगरी सुपथ मूल्यको पसल पनि घटस्थापनाभन्दा १५ दिनअगाडिबाटै खोल्ने योजना रहेको पनि सुवेदीले जानकारी दिए। ‘उपत्यकाका पहिलेकै ४ स्थान सुपथ मूल्यका पसल सञ्चालन हुनेछन्। थप केही स्थानमा खोल्ने कि भन्ने पनि योजना छ’, उनले भनिन्, ‘अनलाइन डेलिभरीको व्यवस्था पनि गरिनेछ।’

उपत्यका र उपत्यकाबाहिर गरी कुल ४३ वटा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउने योजना रहेको सुवेदीले जानकारी दिए। ‘आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यस विषयमा छलफल छ’, उनले भने, ‘सम्भवतः यस विषयमा आज टुंगो लाग्न सक्छ।’