काठमाण्डौ । दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आज (असोज २२ गते)देखि खुला गरिएको छ। 

सरकार र यातायात व्यवसायीबीच भएको सहमतिबमोजिम आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। यस विषयमा गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सहमति भएको थियो। 

विगतका वर्षमा झैँ यात्रीको सहजताका लागि दसैँ अगावै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो। 

सरकारले दसैँको बेला सार्वजनिक यातायातले रुट परमिट लिनु नपर्ने व्यवस्था पनि गरेको छ। जसअनुसार यातायात व्यवस्था विभागले असोज २८ गतेदेखि देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन दिने व्यवस्था मिलाएको छ। यसले यात्रुलाई सहज हुने विभागको भनाइ छ। 

यसपालिको दसैँमा काठमाण्डौ उपत्यकाबाट २० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ।