काठमाण्डौ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि काठमाण्डौमा खसीबोका भित्र्याउन सुरु गरेको छ। 

कम्पनीले हिजो ५३१ खसीबोका ल्याएको छ। हेटौँडाबाट ३०२ र दाङबाट २२९ वटा खसीबोका ल्याइएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। ‘यसपालि २ हजार खसीबोका ल्याइनेछ’, उनले भनिन्, ‘बाँकी खसीबोका पनि ल्याउन तयारी भइरहेको छ।’ 

भोलि शनिबारबाट खसीबोका बेच्न सुरु गरिने पनि सुवेदीले जानकारी दिइन। ‘आज बस्ने बैठकले खसीबोकाको मूल्य तय गर्नेछ’, उनले भनिन्। 

बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सहुलियतमा कम्पनीले खसीबोका बिक्री योजना बनाएको छ। 

कम्पनीले हरेक वर्षको दसैँमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ। यसपालि मूल्य महँगो भएकाले च्यांग्रा बिक्री नगर्ने निर्णय कम्पनीले गरेको छ। 

खसीबोका ल्याउन कम्पनीले यो वर्ष ६ करोड रुपैयाँ बजेट छुट्याएको छ।