काठमाण्डौ । दसैँपछिको पहिलो कारोबारमा सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २८.१८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८७५.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१६ अंकले घटेर ३६१.९४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार महेश रिजाल बजार घट्नुमा विभिन्न कारण रहेको बताउँछन्। ‘दसैँपछिको पहिलो कारोबार भएकोले पनि बजार घटेको हो’, उनले भने, ‘अर्को कारण भनेको बजारमा आईपीओको सप्लाई बढी भयो। प्रिमियममा जारी आईपीओले बजारमा ओभरसप्लाई भइरहेको छ।’

अर्को मुख्य कारण भनेको नीतिगत व्यवस्था नै रहेको रिजालको भनाइ छ। ‘बजार प्रतिकूल नीतिगत व्यवस्था परिमार्जन नभएसम्म लगानीकर्ताको मनोबल नबढ्ने देखियो’, उनले भने, ‘उता नियामक र सरकारले पुँजीबजार सुधारका लागि खासै पहल गरेको देखिँदैन।’

बजार अझै केही दिन साइडवेजमा चल्न सक्ने रिजालको अनुमान छ। 

अर्काबजार जानकार दामोदर गजुरेल पनि आईपीओ र हकप्रदको सप्लाई बढ्दा बजार प्रभावित भएको बताउँछन्। ‘अर्को कुरा भनेको दसैँअघि बजार केही अंकले बढेको थियो, त्यसैले लगानीकर्ताले अलिकति भए पनि नाफा बुक गरेका हुनसक्छन्’, उनले भने, ‘पहिले पनि यस्तै हुन्थ्यो।’

बजार सुधारका लागि नीतिगत व्यवस्थामा परिमार्जन हुन आवश्यक रहेको पनि गजुरेलको भनाइ छ।  

आज नेप्से उपसमूहमा रहेका सबै समूहमा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक २.६८ अंकले घटेको छ। होटेल तथा पर्यटन समूह २.६३ अंकले घट्दा बैंकिङ समूहमा १.३९ प्रतिशत, विकास बैंक समूहमा १.५१ प्रतिशत, वित्त समूहमा १.४२ प्रतिशत, जलविद्युत समूहमा १.४६ प्रतिशत, लगानी समूहमा १.६२ प्रतिशत, जीवन बीमा समूहमा १.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१४ प्रतिशत, लघुवित्त समूहमा ०.९६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.९६ प्रतिशत र अन्य समूहमा ०.९७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८३ कम्पनीका २७ लाख १२ हजार १२३ कित्ता सेयर ७४ करोड २९ लाख २५ हजार ३९३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेसनल हाइड्रोपवारको सर्वाधिक ४ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हाथवे इन्भेस्टमेन्टको २ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिटिजन लाइफको २ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको २ करोड १७ लाख रुपैयाँ, घोराही सिमेन्टको १ करोड ९९ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ६७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६७ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको १ करोड ६४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ५४ लाख रुपैयाँ र हिमालयन लघुवित्तको १ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज अप्पर सोलु हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन सोनापुर मिनरल्सका सेयरधनीहरुले धेरै गुमाए। आजैबाट दोस्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।