काठमाण्डौ । दसैँ बिदापछि खुलेको सेयर बजारमा आइतबार हरियाली छाएको छ।
बजार आज ४४.६२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक १८९८.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ८.७८ अंकको बढोत्तरीका साथ ३७२.२१ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज बजार २–३ वटा कारणले बढेको बताउँछन्। ‘दसैँअघि ब्रोकर लाइसेन्सका लागि लगानीकर्ताहरुले सेयर बेचेका थिए। त्यतिबेला चाडपर्वका लागि पैसाको जोहो पनि सेयर बजारबाट गरिएको थियो’, उनले भने, ‘त्यही भएर बजारमा दबाब परेको थियो।’
अब भने ब्रोकर लाइसेन्स, चाडपर्वलगायत सबै सेटल भइसकेको ढकाल बताउँछन्। ‘योसँगै दसैँको बेला रेमिट्यान्समार्फत ठूलो धनराशि भित्रिएको छ’, उनले भने, ‘त्यही भएर बजारमा आज बढोत्तरी आएको हो।’
अब ब्याजदर बढ्ने सम्भावना पनि नरहेको ढकालको भनाइ छ। ‘किनकि अर्थ मन्त्रालयले ब्याजदरका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ’, उनले भने।
अब धमाधम सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने भएकोले पनि बजार सकारात्मक नै रहने ढकाल बताउँछन्।
बजार जानकार महेश रिजाल बजार धेरै घटेका कारण आज बढेको बताउँछन्। ‘प्राविधिक रुपमा पनि बजार १८१० सम्म पुगेर फर्किएको छ’, उनले भने।
विगतमा पनि दसैँआसपासमा राम्रै बढोत्तरी हुने गरेको उल्लेख गर्दै रिजाल भन्छन्, ‘अब बजार करेक्सन हुँदै माथि नै जाने सम्भावना छ। किनकि चुनावी महौल सुरु भइसकेको छ। यो बेला तरलता पनि बढ्छ।’
यसैगरी कम्पनीहरुले नगद लाभांश घोषणा गर्दा पनि तरलता बढ्ने रिजालको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन वित्त समूह सर्वाधिक ४.६९ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ४.५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.९६ प्रतिशत, व्यापार समूहमा ०.९६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९६ प्रतिशत, जलविद्युत समूहमा २.८७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.५७ प्रतिशत, अन्य समूहमा २.४७ प्रतिशत, लघुवित्त समूहमा २.६८ प्रतिशत, जीवन बीमा समूहमा २.१५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७ प्रतिशत र लगानी समूहमा २.४३ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका २५ लाख ३३ हजार ३९३ कित्ता सेयर ८३ करोड ६८ लाख ७३ हजार १४० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक २२ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख रुपैयाँ, अपी पावरको १ करोड ८९ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ७७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १ करोड ६३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ५४ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको १ करोड ४८ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ४४ लाख रुपैयाँ र अरुण काबेली पावरको १ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन सप्तकोशी डेभलपमेन्ट बैंक र उपकार लघुवित्तका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन ओरियलन्ट होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19