काठमाण्डौ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलक्षित सुपथ पसल सञ्चालनको तयारी पूरा गरेको छ। 

कम्पनीले आफ्नातर्फबाट गर्नुपर्ने तयारी सम्पूर्ण पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको हो। ‘अब मन्त्रालयले स्वीकृति दिएपछि त्यहीअनुसार सुपथ पसल सञ्चालन गर्छौं’, कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। 

सुवेदीका अनुसार देशका ४२ जिल्लामा कुल ४८ वटा सुपथ पसल सञ्चालन गर्ने कम्पनीले योजना बनाएको छ। ‘ उपत्यकाभित्र ४ स्थानमा र अन्य जिल्लामा ४४ वटा पसल सञ्चालन गर्ने योजना छ’, उनले भनिन्, ‘त्यसमा केही स्थानमा थपघट हुन सक्छ, अनलाइन डेलिभरीको व्यवस्था पनि गरेका छौँ।’

प्रवक्ता सुवेदीका अनुसार सुपथ पसलमा पाइने खाद्यसामग्रीहरुमा किलो वा लिटरमा अधिकतममा १० रुपैयाँसम्म दिने व्यवस्था गरिनेछ। ‘न्यूनतममा ७ रुपैयाँ र अधिकतममा १० रुपैयाँ छुटको व्यवस्था हुनेछ’, उनले भनिन्। 

सुपथ पसल घटस्थापनाको १० दिनअघिबाट सञ्चालनमा आउन सक्ने पनि सुवेदीले जानकारी दिइन्। ‘मन्त्रालयबाट फाइन भएर आएपछि पसल सञ्चालनको मिति तय गर्नेछौँ’, उनले भनिन्। 

यसपालिको दसैँका लागि ३ हजारवटा खसी, बोका र च्यांग्रा ल्याउने तयारीमा कम्पनी रहेको छ। प्रवक्ता सुवेदीले दसैँका लागि २ हजारवटा खसी र बोका तथा १ हजारवटा च्यांग्रा ल्याइने जानकारी दिइन्। 

खसी, बोका र च्यांग्रा ल्याउन कम्पनीले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याइएको पनि सुवेदीले जानकारी दिइन्। ‘घटस्थापनाको १–२ दिनपछि बिक्रीवितरण सुरु गर्छौं’, उनले भने, ‘यसपालि पनि किलोमा १० रुपैयाँ छुट दिने व्यवस्था गर्न लागेको छौँ।’