– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । दसैँको नवरात्र सुरु भइसकेको छ। दसैँको टीकाको दिन पनि नजिकिँदैछ। योसँगै काठमाण्डौका सडक र ब्रोकर हाउस खाली हुँदै गएका छन्। 

दसैँको रझमझ सुरु भएसँगै ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति पनि पातलिँदैको छ। अधिकांश ब्रोकर हाउसमा हिजोआज लगानीकर्ता भेटिँदैनन्। यसलाई सेयर बजारमा हुने कारोबारले पनि पुष्टि गरेको छ। 

आज दोस्रो बजारमा मुस्किलले १ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ। आज नवरात्रको तेस्रो दिन हो। 

दसैँ मनाउनकै लागि विदेशबाट नेपाली आउने क्रम पनि जारी रहेको छ। विभिन्न काम, पेसा तथा व्यापार–व्यवसाय संलगनहरु पनि राजधानीबाट बाहिरिने क्रम दैनिक बढिरहेको छ। 

एक ब्रोकर सञ्चालकले दसैँ सुरु भइसकेकोले ब्रोकर हाउसमा चहलपहल घटेको बताए। ‘अब देशमा चाडपर्व सुरु भइसकेको छ’, ती सञ्चालकले भने, ‘बजार पनि सुस्त भयो।’

ब्रोकर हाउसमै भेटिएका एक लगानीकर्ता पनि मोफसलमा पुगेका  साथीलाई फोनबाटै शुभकामना दिँदै थिए। ती लगानीकर्ताले भने, ‘जाँदा खबरै नगरी जानु भएछ, जे भए पनि दसैँको शुभकामना।’

अर्को एउटा ब्रोकरमा भेटिएका लगानीकर्ताले भने यसपालि बजार घटेर बिजोग नै भएको कारण टिकट नै रद्द गरेर बसेको बताए। ती लगानीकर्ताले  भने, ‘खोइ के गरी घर जानु  ? बजार घटेको घट्यै छ।’ 

काठमाण्डौका सडक विस्तारै खाली हुँदै गएको देखिन्छ। केही ठाउँमा लठ्ठेपिङ मच्चिन थालेका छन्।