काठमाण्डौ । पूँजीबजारमा सोमबार अनौठो र निकै दुर्लभ दृश्य देखिए । एकैदिन पूँजीबजार तीव्र रुपमा घटेर सर्किट ब्रेकर नै लगाउनुु पर्यो भने त्यही दिनको उतराद्र्धमा बजार पुनः यूटर्न भई हराभराको अवस्था देखापर्यो । 

लगानीकर्ताहरुमा देखिएको तीव्र विचलनले समेत बजारमा एकैदिन केही घण्टाको फरकमा यस्ता दृश्यहरु देखिएका हुन् । 

बजार खुलेको १ घण्टा नपुुग्दै समग्र नेप्से परिसूचक ३ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाएर १५ मिनेट कारोबार स्थगन गर्नुपरेको थियो । त्यसपछि खुलेको बजारमा फेरि ४ प्रतिशत भन्दा बढीको गिरावटतर्फ अगाडि बढेपछि क्र्यास हुन नदिन अर्को सर्किट ब्रेकर लगाइयो र ३० मिनेट कारोबार स्थगन गरियो । तीव्र गतिमा घटिरहेको बजारमा दोश्रो सर्किट ब्रेकरपछि खुलेको बजार सुरुमा ओरालो लागेपछि गिरावट ५ प्रतिशतमा पुुगेर आज दिनभरकै कारोबार स्थगन हुने आशंकाका बीच बजारले नाटकीय रुपमा उकालो यात्रा पक्रेको हो । 

हेर्दा हेर्दै बजार ४०.६८ अंकले बढेर १५१०.१६ को उचाईमा पुुगी बन्द भयो । पूर्वाद्र्धमा बियरिस ट्रेण्डमा कुदेको बजार एकाएक सुधार भई ४०.६८ अंकको बढोत्तरी हुँदै बन्द भएपछि अत्तालिएका निरश लगानीकर्ताहरुको मुहार उज्यालो भएको छ । नबुुझेर आफूसँग भएको सेयर हतारमा बिक्री गर्न तयार भएकाहरुले समेत राहात महसुुस गरेका छन् । बजारमा यति राम्रो बढोत्तरी अघिल्लो साता पनि भएको थिएन । लामो समयपछि नेप्सेका छिन छिनको अनेक रुप बीच बजारमा यति राम्रो उभार आएको हो । 

दोश्रो सर्किट ब्रेकर लागी कारोबार खुलेपछिको केही मिनेटसम्म पनि ७ प्रतिशतको ठूलै पहिरोको सामना गरेको बिमा समूहले अपत्यारिलो ढंगले १.९५ प्रतिशतको वृद्धि हासिल गरेको छ । वाणिज्य बैंक समूह ५०.७९ अंकले वृद्धि भएको छ भने होटल समूह ७५.७४, विकास बैंक समूह २४.५७, जलविद्युत ४५.७७, बित्त समूह १३.४६ र अन्य समूह ८.६७ अंकले बढेका छन् । सबै समूहको सूचक यूटर्न भई बढे पनि उत्पादनमूलक भने १२.१४ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार कारोबार रकम १ अर्ब ९ करोड माथि पुुगेको छ । वाणिज्य बैंक समूहले ५७ करोड २६ लाखको कारोबार गरेको छ भने बिमा समूहले ३५ करोडको हाराहारीमा कारोबार गरेको छ । विकास बैंक समूहले ९ करोड ६३ लाखको कारोबार गर्यो । 

सोमबार पनि एभरेष्ट बैंकले नै उच्च कारोबार गर्यो । यो बैंकको मात्र करिब १६करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ६ करोड ६२ लाख, शिखर इन्स्योरेन्सले ५ करोड ६ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ करोड ९२ लाख, सिद्धार्थ बैंकले ४ करोड ७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ३ करोड ८७ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ३ करोड ७८ लाख बराबरको सेयर कारोबार गरे । यसैगरी, एनबी बैंकले ३ करोड २२ लाख, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड २९ लाख र कुमारी बैंकले २ करोड १८ लाख बराबरको सेयर कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सुरुमा क्र्यासको बाटो समातेर उतराद्र्धमा उछालको गतिमा कुदेको बजारमा ४ कम्पनीले पैसा छापेका छन् । प्रूडेन्सियल इन्स्योरेन्स, सगरमाथा फाइनान्स, एनएलजी इन्स्योरेन्स र सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

आइसीएफसी फाइनान्स र प्रभू इन्स्योरेन्सको सेयर मूल्यमा ९ प्रतिशत बढीको वृद्धि देखियो । सूूर्य इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतको हाराहारीमा बढ्यो ।

जेब्लिस फाइनान्सका लगानीकर्ताले चाहि ७ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउन पुुगे । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्स बित्तीय संस्थाको सेयर मूल्यमा ६ प्रतिशतको हाराहारीमा पहिरो गयो ।