काठमाण्डौ । यहाँस्थित त्रिभुवन विमानस्थलबाट उडेलगत्तै एउटा इञ्जिनमा आगलागी भएको फ्लाइ दुबईको बिमान अन्ततः नयाँदिल्लीको आकाशबाट पनि अगाडि बढेको छ । 

हाल फ्लाई दुबईको एफडिबी ५७६ कलसाइन भएको बिमान भारतको नयाँदिल्लीको आकाशबाट पनि अगाडि बढेको देखिएको हो । 

यसको अर्थ बिमान सुरक्षित ढंगले दुबईतर्फको आफ्नै रुटमा अगाडि बढिरहेको छ । 

फ्लाइट राडार २४ का अनुसार सो बिमान नयाँदिल्लीबाट पनि अगाडि बढिसकेको छ । कतिपयले दिल्लीस्थित विमानस्थलमा अवतरण गर्ने हल्ला गरे पनि अवस्था त्यस्तो नहुने देखिएको हो । 

काठमाण्डौ बिमानस्थलबाट उडेलगत्तै दायाँ इञ्जिनमा आगलागी भए पनि चालक दलले आगो निभाएको अर्को इञ्जिनले राम्रो काम गर्ने निश्कर्षसहित गन्तव्यतर्फ सो विमानलाई मोडेका थिए । 

त्यसो त ठूलो दुर्घटना टरेसँगै नेपाली आकाशमै होल्ड गरी आगो नियन्त्रणपछि बिमान अगाडि बढेको विषयमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका थिए । उनले सो विमान गन्तव्यतर्फ लागेको बताएका थिए । 

यसअघिउडेलगत्तै एउटा इञ्जिनमा आगो लागेर सो विमान सुरक्षित अवतरणको प्रयास भइरहेको विमानस्थलस्थित उड्डयन प्राधिकरणका कर्मचारीहरुले जानकारी गराएका थिए । सो बिमानमा ४९ जना नेपालीसहित १६९ यात्रु रहेका थिए । 

बिमान आकस्मिक अवतरणको तयारी हुँदा ७ वटा जहाज सिमराको आकाशतर्फ होल्ड गरिएको थियो । तर फ्लाई दुबईका पाइलटले सुरक्षित ढंगले गन्तव्यतर्फ लैजान सकिने प्रष्ट पारेपछि बन्द गरिएको त्रिभुवन विमानस्थल १०ः१५ बजेदेखि नै खुलाइएको थियो ।