काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतको राजधानी नयाँदिल्लीमा लगाइएको लकडाउन केही प्रतिबन्धका बीच सोमबारदेखि खोलिएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ९७ कन्टेनमेन्ट जोन रहेकोले ती पूर्ण रुपमा सिल गरिएको र बाँकी क्षेत्र खोलिएको बताएका छन्। ‘कन्टेनमेन्ट जोनपछि जति पनि इलाका छन् उनीहरुलाई ग्रिन जोनमा राखिएको छ र मार्केट खोल्न अनुमति दिइएको छ’, उनले भने।

केजरीवालले दिल्लीमा लकडाउन खोल्न अत्यावश्यक भएकोले खुकुलो पारिउको बताए। उनले भने, ‘अब हामी कोरोनाभाइरसका साथ जिउन तयार छौँ।’

दिल्लीमा कोरोनाभाइरसबाट ४ हजार बढी संक्रमित भइसकेका छन्। जसमा १ हजार २५६ जना निको भइसकेका छन् भने ६४ जनाको ज्यान गइसकेको छ। केजरीवालले भने, ‘दिल्ली कोरोनासँग लड्न र त्यसका साथ जिउन तयार छ किनकि अस्पताल र किट्सको उपलब्धतामा दिल्लीको अवस्था राम्रै छ।’

केजरीवालले निजी कार्यालयहरु खोल्न अनुमति दिइएको तर केवल ३३ प्रतिशत कर्मचारीको उपस्थितिमा गराउन अनुमति दिइने बताए। आईटी हार्डवेयर, म्यानुफ्याक्चरिङ, जरुरी सामान उत्पादन गर्ने उद्योगहरुलाई खोल्न अनुमति दिइएको केजरीवालले जानकारी दिए। 

केन्द्र सरकारले दिल्लीलाई रेड जोन घोषित गरेको छ। रेड जोनअन्तर्गत जुन छुट दिइन्छ त्यो सबै दिइने केजरीवालले बताए। 

सोमबार दिल्लीस्थित सबै सरकारी कार्यालय खुला भएका छन्। अत्यावश्यक सरकारी कार्यालयमा सतप्रतिशत कर्मचारी आउने छन् भने बाँकी सरकारी तथा निजी कार्यालयमा ३३ प्रतिशत कर्मचारी आउनेछन्। 

हवाईसेवा, मेट्रोल, रेल र अर्को राज्यबाट आउने बस सेवा भने बन्द नै रहेको छ। शिक्षण संस्था, कोचिङ, मल र जिम बन्द छन्। सामाजिक र राजनीतिक सभासम्मेलनमा रोक यथावत नै राखिएको छ। 

साइकल रिक्सा, अटो रिक्सा, सैलुन पनि बन्द रहनेछन्। साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म घरबाट बाहिर निस्किन बन्देज लगाइएको छ। 

धार्मिक संस्थान, ट्याक्स र क्याब एग्रिगेटर बन्द रहनेछन्। प्लम्बर, इलेक्ट्रेसियन, घरमा काम गर्नेहरुलाई भने अनुमति दिइएको छ। बजारभित्र रहेका जरुरी सामानको पसल खुला रहेनछन्। पुस्तक पसल पनि खुला रहनेछन्। 

कोलोनीका सबै पसल खुला रहनेछन्। प्रिन्ट र इलेक्टोनिक मिडिया पनि खुला रहन अनुमति दिइएको छ। 

यदि कसैसँग चारपंग्रे सवारीसाधन छ भने चालकसहित २ जनामात्र यात्रा गर्न पाउनेछन्। मोटरसाइकलमा एकजनामात्र यात्रा गर्न पाइनेछ। 

विवाहमा सामाजिक दूरी कायम गर्न ५० जनाभन्दा बढीलाई बोलाउन पाइने छैन। 

कृषिसँग जोडिएका सबै कामलाई अनुमति दिइएको छ। वित्तीय क्षेत्रसँग जोडिएका कार्यालयहरु खुला हुनेछन्। – एजेन्सी