– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालमा अहिले ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्। तीमध्ये २० करोड रुपैयाँ पुँजी भएको पहिलो ब्रोकर कम्पनी दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं. ३८) रहेको छ।

काठमाण्डौ अनामनगरमा केन्द्रीय कार्यालय भएको दीपशिखाका अध्यक्षमा दीपकराज ओली र महाप्रबन्धक विष्णुराज ओझा छन्। कम्पनीका महाप्रबन्धक ओझा ग्राहकलाई गुणस्तरीय सेवा दिनु नै आफूहरुको प्रमुख प्राथमिकता रहेको बताउँछन्।

नेपाल कमर्स क्याम्पसबाट एमबीएस उत्तीर्ण गरेका ओझाले दीपशिखा २०६४ सालमा दर्ता गरी २०६८ साल भदौ १० बाट कम्पनी सञ्चालन गरेका हुन्। त्यसबेला २७ वटा ब्रोकरले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ब्रोकर लाइसेन्सको स्वीकृति पाएका थिए।

ब्रोकर लाइसेन्सका लागि त्यस बेला झन्डै ३०० जनाले आवेदन दिएका थिए। ब्रोकर लाइसेन्सका लागि कम्पनीको पुँजी, सञ्चालकको अनुभव, तालिम साथै शैक्षिक योग्यतालाई ७५ अंक र लिखित परीक्षालाई २५ अंकको मापदण्ड राखिएको थियो।

‘ब्रोकर लाइसेन्सका लागि पुलचोक इन्जिनरिङ कलेजमा लिखित परीक्षा राखिएको थियो। त्यस बेला १० जना प्रोफेसरले ५ बजे प्रश्नपत्र बनाएर ६ बजे परीक्षा लिई ८ बजे रिजल्ट निष्कासन गरिएको थियो’, ओझा भन्छन्, ‘त्यसबेला ब्रोकर लाइसेन्स पाउने २७ जनाको सूचीमा हामी पनि परेको थियौँ।’

‘२०६४ सालमा ६–७ कर्मचारीबाट सुरु भएको दीपशिखामा अहिले ७० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन्’, ओझा भन्छन्, ‘त्यसबेला हाम्रो पुँजी ५१ लाख रुपैयाँमात्र थियो। अहिले हाम्रो पुँजी २० करोड रुपैयाँ पुगेको छ।’ 

दीपशिखा अहिले काठमाण्डौमा मात्र केन्द्रीकृत नभएर पूर्व बिर्तामोडदेखि पच्छिम धनगढीसम्म पुगेको छ। ‘आजभन्दा झन्डै ४–५ वर्षअगाडि दीपशिखाको मात्र नभएर समग्र स्टक ब्रोकर्स एसोसिएसनको पनि काठमाण्डौभन्दा बाहिर पनि हाम्रो सेवा सुविधा विस्तार गर्नुपर्छ भनेर सामूहिक निर्णय गरेसँगै हामीले शाखाका लागि आवेदन दिएका थियौँ। त्यसबेला देशको मुख्य सहरहरुमा ब्रोकरहरुलाई शाखा विस्तार गरी सेवा दिन नियामकबाट ठूलो सहयोग भएको थियो’, उनले भने, ‘अहिले देशको मुख्य सहरहरुमा शाखा विस्तार गरी आमलगानीकर्ताको पहुँचमा ब्रोकरहरुलाई पुर्याउन नियामकले ठूलो भूमिका खेलेको छ।’

ओझाका अनुसार ठूला सहरमा मात्र नभएर सम्भावना भएका पालिकाहरुमा पनि थप शाखाहरु विस्तारका साथै ग्राहकलाई गुणस्तरीय सेवा दिने उद्देश्यका साथ पुँजी बढाउने पनि दीपशिखाको प्राथमिकतामा छ। ओझा भन्छन्, ‘त्यसका साथै यही प्रणाली रहेको खण्डमा थप शाखा विस्तार भएसँगै हाम्रो चाँडै नै आईपीओ निष्कासन गर्ने योजना पनि छ।’

अहिले दीपशिखामा १ लाख जना लगानीकर्ता दर्ता भएको ओझा बताउँछन्। ‘त्यसमध्ये झन्डै ७० हजारले अनलाइन लिएका छन्। साना रिटेल लगानीकर्ता भएका ब्रोकरमध्ये हामी पनि एक हौँ’, उनले भने।

सञ्चालनमा भएका सबै ब्रोकर बजार विकास र विस्तारका लागि सकारात्मक रहेको ओझा बताउँछन्। ‘आजभन्दा झन्डै ४–५ वर्षअघि नै २०० बढी ठाउँमा शाखा विस्तारका लागि ब्रोकरहरुले आवेदन दिएका थिए’, उनले भने, ‘त्यसैले पूर्वदेखि पश्चिमसम्म आफ्नो सेवा विस्तारका लागि सबै ब्रोकर सकारात्मक छन्। त्यसका लागि नियामक निकायले सहजीकरण गर्न आवश्यक छ।’

ब्रोकरहरुले एडभाइजरीलगायतको काम गर्न पाउँदा ब्रोकरभन्दा बढी लगानीकर्ता लाभान्वित हुने ओझाको भनाइ छ। ‘आमलगानीकर्तालाई फाइदा हुने काममा हामी ब्रोकरहरु सधैँ सकारात्मक छौँ। नियामकले निर्धारण गरेको सेवा दिन सक्छौँ भन्ने हामी ब्रोकरमा आत्मविश्वास हुनुका साथै हामी ब्रोकर सक्षम पनि छौँ’, उनले भने।

नियामक निकायहरूबाट सबब्रोकर, ब्रोकर प्रतिनिधिलगायतको कम खर्चमा बजार विकास र विस्तार हुने अवधारण अवलम्बन गर्दा मुलुकभित्र मात्र नभर मुलुकबाहिर पनि बजार विस्तार हुने ओझा बताउँछन्।

नेपाली सेयर बजारको भविष्य कस्तो छ ? भन्ने जिज्ञासामा ओझा भन्छन्, ‘नेपाली सेयर बजार सम्भावना भएको बजार हो। नयाँ प्रडक्टहरु थप्नुका साथै रियल सेक्टरको कम्पनीहरु ल्याउन अहिले नियामक निकायहरु जोडदार रुपमा लागेको देखिन्छ। त्यसैले नेपाली सेयर बजार विकासकै क्रममा भएकाले लगानीकर्ताले विचार पुर्याएर लगानी गरेमा नेपाली सेयर बजारमा धेरै नै सम्भावना छ।’