काठमाण्डौ । देशका दुई म्यूचुअल फण्डले आफ्ना लगानीकर्तालाई नगद लाभांश दिने भएका छन् । 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमले आफ्ना युनिट सेयरहोल्डरहरुलाई क्रमशः ३० र १६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेका हुन् । 

सोमबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचना अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको भदौ १२ गते सम्पन्न संचालक समितिको बैठकले आफ्ना युनिट सेयरहोल्डरहरुलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

सम्बन्धित निकायबाट स्वीकृत भएपछि मात्र घोषित नगद लाभांश युनिट सेयरहोल्डरले प्राप्त गर्नेछन् । 

यो स्कीमले ५० करोडबाट सुरु भएकोमा हाल १ अर्ब ३६ करोड रुपैयाँ सूचिकृत सेयरमा लगानी गरिसकेको छ । ४ करोड ८४ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । यो स्किमले कुल ८३ कम्पनीका १२ लाख ९३ हजार ९ सय २९ कित्ता सेयरमा लगानी गरेको छ । 

यसैगरी, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमले पनि आफ्ना युनिट सेयरहोल्डरहरुलाई १६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

यो कम्पनीको पनि भदौ १२ गते नै बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय पनि सम्बन्धित निकायबाट स्वीकृत भएपछि मात्र घोषित नगद लाभांश सेयरहोल्डरहरुले प्राप्त गर्नेछन् । 

५० करोडको कोषबाट सुरु भएको यो स्किमले १ अर्ब १५ करोड रुपैयाँ सूचिकृत सेयर, ४ करोड ६९ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा  लगानी गरेको छ । यो कम्पनीले कुल ७९ सूचिकृत कम्पनीका ११ लाख २१ हजार ९ सय ८९ कित्ता सेयरमा लगानी गरेको छ ।