काठमाण्डौ । कारोबार सुरु भएको आधाघण्टाभित्रै दुुईवटा सर्किट ब्रेकर लागेको बजारले फेरि चटक देखाएको छ । बजारमा कारोबार सुरुवातको समयमा देखिएको सेयर खरीदको अत्यधिक चाप २ पटक सर्किट ब्रेकर लगाएपछि क्रमशः घट्दै बन्द हुँदा समेत बजारमा करेक्सनकै अवस्था आएको हो । २ पटक सर्किट ब्रेकर लागेको सोमबारको बजार अन्तिम समयमा ६.५९ अंकले घट्दै बन्द भएको हो । 

कारोबारको सुरुवातमा उछालको गतिमा उकालो लागेका अधिकांश समूहमा रातो पोतिएको छ । टेडिंग र बिमा समूहको सूचकमा सामान्य बढोत्तरी भए पनि बाँकी सबै समूह घटे । 

५ प्रतिशत बढीको वृद्धिको अवस्थामा पुुगेको वाणिज्य बैंक समूह ०.४७ प्रतिशत(७.२८ अंक)ले घट्यो भने विकास बैंक र बित्त समूहमा पनि क्रमशः १४.०८ र ८.८४ अंकको गिरावट आयो । होटल, जलविद्युत र अन्य समूह क्रमशः ३५.३९, २९.५२ र ५.५ अंकले घट्न पुुगे । बिमा समूह ६७.६५ अंक(०.७९ प्रतिशत)ले बढ्यो भने ट्रेडिङ समूहमा १.४१ अंकको वृद्धि देखियो । 

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घट्यो भने फ्लोट इण्डेक्समा पनि ०.३७ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
समग्र बजार सूचकमा एक अंकको करेक्सन आए पनि कारोबार रकम भने बढेर २ अर्ब ५३ करोडको उचाईमा पुुगेको छ । यो दिन १ सय ४४ कम्पनीका कुल ५५ लाख ५४ हजार ५ सय ७५ कित्ता सेयर किनबेच भए । सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले १३ करोड ५४ लाखको कारोबार गर्यो । यस्तै, एनसीसी बैंकले १३ करोड ४३ लाख, लुम्बिनी जनरल इन्स्योेरेन्सले १२ करोड ६९ लाख, एशियन लाइफ इन्स्योरेन्सले ८ करोड ३० लाख, नेशनल लाइफ इन्स्योरेन्सले ८ करोड ८ लाख, शिखर इन्स्योरेन्सले ७ करोड ४१ लाख बढीको कारोबार गरे । यस्तै, सानिमा बैंकले ६ करोड ९० लाख, प्रभूू बैंकले ६ करोड ६७ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले ६ करोड ९ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक र ५ स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
करेक्सनसँगै बन्द भएको बजारमा ५ कम्पनीका लगानीकर्ता मालामाल भए । राष्टिय बिमा कम्पनी लिमीटेड, एभरेष्ट इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र नमस्ते बित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । गोर्खाज फाइनान्स र यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

सोमबार महिला सहयात्रा माइक्रो फाइनान्स र स्वाबलम्बन विकास बैंकका सेयरधनीले धेरै गुमाए । यी दुुई कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आयो ।