काठमाण्डौ । खानेपानी तथा सरसफाई मन्त्रालयका पूर्व सहसचिव राजन पाण्डेले एकदिनअघि नेपाल गुणस्तर तथा नापतौल विभागको एउटा पत्र हाल्दै फेसबुकमा लेखे–‘होशियार यी सामानहरु किन्नुअघि विचार गर्नुहोला । ने.गु. तथा ना. विभागको यो सक्रियताका लागि सलाम छ ।’ 

विभागको त्यो पत्रमा थियो: तीनवटा सिमेन्ट उद्योगले नेपाल गुणस्तर मापदण्डअनुसार सिमेन्ट उत्पादन नगरेका र बजारमा उत्पादन गरी पठाएका निश्चित ब्याचका सिमेन्ट उद्योगमै फिर्ता गर्न भनी दिइएको निर्देशन । मारुती, यूनाइटेड र जगदम्बा सिमेन्टमाथि भएको कारबाहीलाई बेलीबिस्तार लगाई विभागले जारी गरेको प्रेस विज्ञप्ति पूर्व सहसचिव पाण्डेले सेयर गरेका थिए । 

सो प्रेस विज्ञप्तिमा जानकी केवल ई. प्रालि तथा ग्याँस वान नेपाल प्रालिमाथि समेत कारबाही गरिएको विषय उल्लेख थियो। 

उनले विभागको लेटरप्याडमा प्रकाशित प्रेस विज्ञप्तिलाई ताजा घटना झै बनाएर सेयर गरेपछि त्यसमा कमेन्ट गर्नेहरुको लर्को देखियो । त्यसभन्दा बढीले चाहिँ उनको त्यही स्टाटस सेयर गरे । झण्डै ४ सय जनाले उनको त्यो स्टाटसलाई २४ घण्टाको अन्तरमा सेयर गरेका देखियो । 

उनको स्टाटसमा कमेन्ट गर्ने धेरैले ‘सूचनाका लागि धन्यवाद’ भन्दै आभार प्रकट गर्न समेत भ्याए । 

केहीले मात्र उनले सेयर गरेको सो विज्ञप्ति २ वर्षअघिको रहेको र मिति नै नहेरी भ्रम फैलाउने हिसाबले सेयर गरेको भन्दै आपत्ति जनाए । 

खासमा विभागले २ वर्षअघि जारी गरेको विज्ञप्ति सामाजिक सञ्जालमा उनले भाइरल बनाएको देखिन्छ । २ वर्षअघिको मंसिर १ गतेकै मितिमा विज्ञप्ति जारी भएकोले साल नहेरी हतारोमा सामाग्री पोष्ट गर्दा पाण्डेले आफूबाट भएको गल्तीको पत्तो नपाएका प्रष्ट बुझिन्छ । 

सुरुमा उनका स्टाटसमा आएका कमेन्ट र त्यसमा उनले साँधेको मौनताले पनि उनी आफैं सुरुमा झुक्किएका र त्यसपछि केहीले ‘२ वर्ष पुरानो कुरा हालेर भ्रम किन सिर्जना गर्न खोजेको ?’ भनेपछि मात्र उनले भेउ पाएको देखिन्छ । त्यसपछि भने उनले त्यसरी प्रश्न गर्नेहरुलाई कुतर्क गर्दै जवाफ फर्काउने कोशिश गरेका छन् । 

उनको स्टाटसमा ३२ जनाले कमेन्ट गरेका छन् । तीमध्ये ७० प्रतिशतभन्दा बढीले उनैलाई २ वर्ष पुरानो सामाग्री राखेर भ्रम छरेको र मानिसलाई बेवकुफ बनाएको भन्दै गाली गरेका छन्। 

सहसचिवबाट रिटायर्ड भएको व्यक्तिले निश्चित कम्पनीहरुको ब्राण्ड इमेज नै बिगार्ने गरी २ वर्ष पुरानो प्रेस विज्ञप्ति किन सार्वजनिक गरे होलान् ? हामीलाई कौतुहुलता भयो र सोध्यौं–‘२ वर्ष पुरानो प्रेस विज्ञप्ति फेसबुकमा सेयर गर्नुभएको रहेछ । सचेत बनौं पनि भन्नु भएको रहेछ । २ वर्ष पुरानो सामाग्री राखेर निश्चित कम्पनीको विषयमा यसरी भ्रम छर्न पाइन्छ र ?’

सुरुमा त उनी बिजशालासँग कुरा गर्न राजी देखिएनन् । तर हामीले कारण भनिदिन भन्दै कर गरेपछि भने मेसेञ्जरमा म्यासेज पठाए–‘उहाँहरुले आफ्ना कमीकमजोरी सच्याउनु भएको भए सञ्जालमार्फत वा अन्य सञ्चारमाध्यम प्रयोग गरेर आफ्नो कुरा राख्दा भइहाल्छ। यसमा थप कुरो गर्न के आवश्यक भयो र ? धन्यवाद!!’

उनले यसरी जवाफ पठाएको १ मिनेटमै आफूले राखेको एकदिन पुरानो त्यो स्टाटस नै डिलीट गरेका छन् । फेरि हामीले सोध्यौं–‘स्टाटस त डिलिट गर्नु भएछ नि त ?’ त्यसपछि भने उनको जवाफ आएन । त्यसको पुनः एक मिनेटपछि उनले हामीलाई फेसबुकमा ब्लक नै हाने । 

पाण्डे यो प्रकरणबाट जसरी भागे, यसबाट समेत प्रष्ट हुन्छ कि उनले यो सामाग्रीको मिति नै नहेरी हतारोमा सेयर गरेका थिए । तर, उनलाई फलो गर्नेहरुले भने त्यति पनि नहेरी धमाधम सेयर गरिदिए । धेरैले सेयर गर्दा ती उद्योगहरुले कारबाही भोगेको कुरा ताजा नै पो हो कि भन्ने भ्रम फैलियो । तर, त्यो प्रकरण त २ वर्ष पुरानो थियो, जुन विषय प्रचार गरिनु नै गलत थियो । 

अरुले पनि सेयर गरे
दुई वर्ष पुरानो प्रेसविज्ञप्ति सेयर गर्दै ‘सचेत बनौं’ भन्ने व्यक्ति पाण्डे मात्र पहिलो होइनन् । 

करिब ६ दिनअघि उदयपुरका पुराना पत्रकार कुशलबाबु बस्नेतले पनि सोही पत्र सेयर गरेका पाइएको छ । 

उनको स्टाटस भने १४ जनाले सेयर गरेका छन् र एकजनाले कमेन्ट गरेका छन् । २ वर्ष पुरानो विज्ञप्ति बस्नेतले किन सेयर गरे, त्यो प्रष्टीकरण दिएका छैनन् । 

समाचार नै  बन्यो
कहिलेकाही सञ्चारमाध्यमले हतारोमा काम गर्दा यस्ता उद्योगहरुको ब्राण्ड भ्यालूमा असर पर्ने रहेछ । हतारको साहित्य मानिने पत्रकारितामा मिति नहेरी यस्ता विषय समाचारसम्म बन्न भ्याए । 

जसले समाचार बनाए, उनीहरुले गल्ती तुरुन्तै थाहा पाएर समाचार डिलिट गर्दै सार्वजनिक रुपमै क्षमायाचना पनि गरे । 

समाचार हाल्ने मुख्य मिडियाले क्षमायाचना गरे पनि त्यही समाचार कपीपेष्ट गर्ने अन्य अनलाइनहरुले भने चूपचाप न्यूज मात्र डिलीट गरे, पत्रकारिताको सामान्य मर्यादा र नैतिकता समेत बिर्सिएर माफी माग्न उचित ठानेनन् ।

फेसबुक प्रयोगकर्ताहरुले त समाचार बनाएको मिडियाले सार्वजनिक रुपमै क्षमायाचना गरेको विषयलाई छायाँमा पारेर २ वर्ष पुरानो त्यही पत्र सार्वजनिक गरिरहे ।  

कम्पनीहरुलाई के असर गर्‍यो त ?
एक सिमेन्ट उद्योगका सञ्चालका अनुसार २ वर्ष पुरानो सो पत्र र त्यसलाई स्टाटस बनाउनेहरुका कारण तनावको वातावरण बन्यो । 

फेसबुक प्रयोगकर्ताले विभागले कारबाही गरेको मिति नै नहेरी ती उत्पादनको विषयमा ताजा धारणा बनाउँदा त्यसले ती सिमेन्टका डिलरहरुको दिमाग खराब हुने अवस्था बनायो । सञ्चालकहरुलाई आफ्ना डिलरहरुले बारम्बार यही विषय सोधिरहे र सोधिरहेका छन् । डिलरहरुलाई ग्राहकले त्यही पत्र देखाएर सिमेन्टको गुणस्तरको विषयमा सोधीखोजी गरी हैरान पारिदिएका छन् ।  

‘हामीले त डिलरहरुलाई सम्झाइरहेका छौं, उनीहरुले कुरा पनि बुझे । भूलवश समाचार बनाउने जिम्मेवार मिडियाले सार्वजनिक रुपमै माफी मागिसक्यो ।’ अर्का सिमेन्ट उद्योगका सञ्चालक भन्छन्–‘तर, सामाजिक सञ्जालमा भने निस्फिक्री २ वर्ष पुरानो कुरा सेयर भइरहेको छ । यसले हाम्रो ब्राण्ड भ्यालूमा असर गरिरहेको छ ।’ 

कुरै नबुझी र फ्याक्ट नै चेक नगरी जथाभावी रुपमा सामाग्रीहरु पोष्ट गर्ने तथा सामाजिक सञ्जालबाट सेयर गर्नेहरुलाई सरकारी निकायले निगरानीमा राख्नुपर्ने सिमेन्ट उद्योगीहरुको माग छ । ‘सामाजिक सञ्जाल प्रयोगकर्ताको अविवेकीपनका कारण २ वर्ष पुरानो सामाग्री सेयर हुँदा हामीलाई परेको असरको भरपाई कसले गर्ने हो ?’ एक उद्योगीले भने––‘यस्ता विषयमा नियमन हुन आवश्यक छ । हामीले हाम्रो गल्ती सच्याइसक्यौं । तर फेसबुक प्रयोगकर्ता तथा हाम्रा विरोधीहरु २ वर्ष पुरानो कुरालाई सेयर गरेर रमाइरहेका छन् । यो प्रवृतिको अन्त्य हुनुपर्छ ।’