काठमाण्डौ । दुई वाणिज्य बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १३ गते अन्तिम दिन रहेको छ। 

नेपाल बैंक, प्राइम कमर्सियल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी चारै कम्पनीले भोलि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

नेपाल बैंकले आफ्नो ६३ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।

प्राइम कमर्सियल बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ८.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस सेयर र करसहित ४.९५ प्रतिशत नगद लाभांश छन्। 

मितेरी डेभलपमेन्ट बैंकले आफ्नो १७ औँ वार्षिक साधारणसभा यही पुस २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.३५ प्रतिशत बोनस सेयर र ०.६५५ प्रतिशत नगद लाभांश छन्। 

एचआईडीसीएलले आर्थिक वर्ष २०७८–७९ का लागि चुक्तापुँजीको कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ३८ लाख १३ हजार ३७६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख ९० हजार १७७.६३ रुपैयाँबराबरको नगद लाभांश छन्। प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीको ११ औँ वार्षिक साधारणसभा आउँदो पुस २६ गतेबाट अनुमोदन हुनेछ।