काठमाण्डौ । दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। सबैको लघुवित्त, सिभिल लघुवित्त र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि सबैको लघुवित्त र सिभिल लघुवित्तले फागुन १४ गते र प्रभु इन्स्योरेन्स भोलि फागुन १२ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज फागुन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सबैको लघुवित्तले आफ्नो छैटौँ वार्षिक साधारणसभा यही फागुन २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा तनहुँको बन्दीपुरस्थित मर्स्याङ्दी रिभर भ्यु रिसोर्टमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १८.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

यसैगरी सिभिल लघुवित्तले आफ्नो ११ औँ वार्षिक साधारणसभा यही फागुन २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरी क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ। 

त्यस्तै प्रभु इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा यही फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ७.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ।