काठमाण्डौ । दुई बैंकसहित चार कम्पनीको गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिएको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ ।

नेपाल एसबिआई बैंक, गरिमा विकास बैंक, स्वरोजगार लघुवित्त वित्तीय संस्था र हिमालयन डिस्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो । यी बैंक तथा संस्थाले भोलि शुक्रबार र आइतबारदेखि  बुक क्लोज गर्दै छन् । यसको अर्थ यी कम्पनीका आजसम्म कायम सेयरधनीहरुमात्र लाभांशको भागिदारसँगै उनीहरुले डाकेको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

कति–कति छ लाभांश ?

नेपाल एसबीआई बैंकले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ६ प्रतिशत बोनस शेयर तथा १०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित बैंकले यही मंसिर २९ गते हुने २६ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ ।

बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ ।

यसैगरी गरिमा विकास बैंकले १६.१५ प्रतिशत बोनस सेयर र ०.८५ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश बैंकको मंसिर २७ गते आयोजना हुने तेह्रौँ वार्षिक साधारण सभाले पारित गर्नेछ। साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ ।

यसैगरी हिमालयन डिस्टिलरी गत आर्थिक वर्षको मुनाफाबाट सर्वाधिक १०२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ५२.६३ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश कम्पनीको आउँदो पुस १ गते १९ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले कुल २८.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा २६.७५ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि १.४१ प्रतिशत नगद लाभांश रहेको छ । लघुवित्तले साधारण् सभा प्रयोजनार्थ मंसिर १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ।