काठमाण्डौ । दुई वाणिज्यसहित तीन बैंकले कुल ७ अर्ब ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएका छन्। 

नबिल बैंकले ३ अर्ब रुपैयाँ, प्रभु बैंकले ४ अर्ब रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएका हुन्। तीनवटै बैंकले ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड आवेदन दिएका छन्। 

नबिल बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर–२०८५’ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

नबिल बैंकका ऋणपत्र ७ वर्षे अवधिको हुनेछ। यसमा बैंकले ८ प्रतिशत ब्याज प्रदान गर्नेछ। 

यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी प्रभु बैंकले कुल ४० लाख इकाइ भएको ‘प्रभु बैंक डिबेन्चर–२०८७’ निष्कासन गर्नेछ। मेगा क्यापिटल मार्केट्स लिमिटेड बिक्री प्रबन्धक रहेको यो ऋणका कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १६ लाख इकाइ सर्वसाधारणलाई बेचिनेछ। 

दसवर्षे यो ऋणपत्रमा लगानीकर्ताले ८.५ प्रतिशत ब्याज पाउनेछन्।

यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले कुल ७ लाख ५० हजार इकाइको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर–२०८७’ निष्कासन गर्नेछ । १० वर्षे अवधिको यो ऋणपत्रको कुल इकाइमध्ये ४ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रमा बैंकले लगानीकर्ताहरुले ९ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। 

यी सबै बैंकका ऋणपत्रहरुमा लगानीकर्ताहरुले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्।