काठमाण्डौ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। 

नेपाल इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। दुवै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज फागुन ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यी दुई कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

एलआईसी नेपालले आर्थिक वर्ष २०७५/७६ का लागि कुल १०.५२६३ लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र बाँकी ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश एआईसीको यही फागुन २५ गते १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ । 

एलआईसी नेपालले फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

यसैगरी नेरुडेले आर्थिक वर्ष २०७६/७७ का लागि कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद लाभांश रहेका छन्। नेरुडेको लाभांश पनि संस्थाको यही फागुन २२ गते हुने १४ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।

नेरुडेले फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।