काठमाण्डौ । दुई वाणिज्य बैंकसहित ६ कम्पनीको साढे ५ लाख बढी कित्ता सेयर आज भदौ ३१ गतेबाट लिलामीमा राखिएको छ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेसनल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण विकास लघुवित्तमा रहेको आफ्नो स्वामित्वको कुल २ लाख ८५ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। जसमा प्रभु बैंकको ५० हजार कित्ता, प्राइम बैंकको १ लाख कित्ता, नेसनल लाइफको १ लाख र नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता रहेका छन्। 

लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक वा जोकाही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतमका लागि भने हद लाग्ने छैन।

लिलामीमा राखिएको प्रभु बैंकको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ, प्राइम बैंकको २०८ रुपैयाँ, नेसनल लाइफको ४२१ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको ४०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यी लिलामी सेयरमा असोज ८ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। 

यसैगरी ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको पौने ३ लाख बढी कित्ता संस्थापक सेयर आज भदौ ३१ गतेबाट लिलामीमा राखिएको छ।

ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता गरी कुल २ लाख ७६ हजार ६३६ कित्ता लिलामीमा राखिएको हो। यी लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकाही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिने ज्योति विकास बैंकको प्रतिकित्ता न्यूनतम १८५ रुपैयाँ र मञ्जुश्रीको २७५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सेयर संख्याका लागि कुनै हद लाग्ने छैन।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालय पेस गर्नुपर्नेछ। बोलपत्र कात्तिक ३ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।