काठमाण्डौ । दुई वाणिज्य बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर ९ गते अन्तिम मौका रहेको छ। 

बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी तीनै कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी तीन कम्पनीका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७७/७८ का लागि कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश बैंकको यही मंसिर २९ गते हुने २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी स्ट्यान्डर्ड चार्टर्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

बैंकको यो लाभांश यही मंसिर २८ गते हुने ३५ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

प्राइम लाइफले भने आर्थिक वर्ष २०७६/७७ का लागि कुल १५.८७ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्राइम लाइफको प्रस्तावित लाभांश यही मंसिर १९ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।