काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेका २ वाणिज्य बैंकसहित ३ कम्पनीको संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत मंसिर ३ गतेबाट प्रभु बैंक, प्राइम कमर्सियल बैंक र नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको कुल १ लाख ५१ हजार ६७५ कित्ता सेयर लिलामीमा राखेको छ। जसमा प्रभु बैंकको ५० हजार, प्राइम कमर्सियल बैंकको ६६ हजार ६७५ र नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर रहेका छन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता प्रभु बैंकको २०५ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २२५ रुपैयाँ, नेपाल ग्रामीण विकास बैंकको ३५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकाही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आज बैंकिङ समयसम्म पेस गर्न सकिन्छ।