काठमाण्डौ । दुई वाणिज्य बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १ गते अन्तिम मौका रहेको छ।

प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी तीनै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यही पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस १ गते (पुस २ गते शुक्रबार र पुस ३ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रभु बैंकले गत आर्थिक वर्षका लागि कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रभु बैंकको प्रस्तावित लाभांश आउँदो पुस १८ गते हुने २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

यसैगरी सनराइज बैंकले गत आर्थिक वर्षका लागि ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बैंकको आउँदो पुस १५ गते हुने १४ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

यस्तै मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको पुस १९ गते हुने चौथो वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा ल्याइनेछ।