काठमाण्डौ । दुई वाणिज्य बैंकका झन्डै ४ लाख कित्ता सेयर आज असार २ गतेबाट बिक्रीमा राखिएको छ। 

सिटिजन्स इन्टरनेसनल बैंक र बैंक अफ काठमाण्डूको कुल ३ लाख ९८ हजार ५३० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९ कित्ता र बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार ५३१ कित्ता छन्। 

बिक्रीमा राखिएको सेयरमा विद्यमान सेयरधनीसहित योग्य जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

बिक्रीमा राखिएको सिटिजन्स बैंकको न्यूनतम मूल्य प्रतिकित्ता १६३ र बैंक अफ काठमाण्डूको १७० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ता शिलबन्दी बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ। 

बोलपत्र यही असार १६ गतेसम्म धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटको काठमाण्डौको कमलपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।