काठमाण्डौ । गत वर्षको भूकम्पपछि नेपालको स्वास्थ्य शिक्षा एवम् परामर्श, टेलिमेडिसिन लगायत क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था आस्क फाउण्डेसनले शनिवार राजधानीमा दुर्गम जिल्लाका स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी सिएमई (कन्ट्य्निइङ मेडिकल एडुकेशन) सञ्चालन गरेको छ । 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आयोजित कार्यक्रममा दुर्गम भेकमा कार्यरत एक सय ११ चिकित्सक, नर्स एवं स्वास्थ्यकर्मीहरु सहभागी भए । 

सो अवसरमा विभिन्न विशेषज्ञता हासिल गरेर नेपाल एवम् अमेरिकामा कार्यरत ११ चिकित्सकले सहभागीहरुलाई आधारभूत जीवन रक्षा एवं आकस्मिक उपचारका सन्दर्भमा कक्षा लिएका थिए । नशारोग विशेषज्ञ राजु पौडेल, स्त्रीरोग विशेषज्ञ डा. रिजुता जोशी, चर्मरोग विशेषज्ञ शम्भू दत्तजोशी लगायत विभिन्न विशेषज्ञ चिकित्सकले दुर्गम भेगका स्वास्थ्यकर्मीलाई ‘मेडिकल केश ह्यान्डलिङ’ सम्बन्धी कक्षा लिएका थिए । मेडिकल क्षेत्रमा भएका प्रगति एवं नयाँ प्रविधिबाट कसरी उपचार गर्नेभन्ने सन्दर्भमा कार्यक्रममा छलफल भएको छ । 

कार्यक्रममा आस्क फाउण्डेसनले कालिकोट र बाजुरामा सुरु गरेको तीनवटा टेलिमेडिसिन सेन्टरलाई ल्यापटप समेत हस्तान्तरण गर्यो । कालिकोटको नैनी र मुर्मी तथा बाजुराको गोत्रीमा सुरु भएको टेलिमेडिसिन सेन्टरलाई ल्यापटप हस्तान्तरण गरिएको कार्यक्रमकी संयोजक एवम् फाउण्डेशनकी अध्यक्ष डा. रश्मी थापाले जानकारी दिइन् । आगामी दिनमा अरु स्थानमा पनि टलिमेडिसिन सेन्टर बिस्तार गर्दै दुर्गमका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य फाउण्डेशनले लिएको छ ।