काठमाण्डौ । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ।

सरकारले दूधको मूल्य लिटरमा १० रुपैयाँसम्म बढाउने तयारी गरेको छ। यसका लागि राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ। बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव पेस गरेको छ। 

गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको उल्लेख छ। यद्यपि दूधको मूल्य लिटरमा १० रुपैयाँले मात्रै बढाउन प्रस्ताव मन्त्रालयमा पेस गरिएको बोर्ड स्रोत बताउँछ। 

प्रतिवेदनमा ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको उल्लेख छ। सोही कारणले मूल्य बढाउन प्रस्ताव पेस गरिएको स्रोत बताउँछ।

किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातवटै प्रदेशमा अध्ययन गरेको थियो। 

प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषदमा मूल्य सिफारिस गर्नेछ। त्यसपछि सरकारले दूधको मूल्य निर्धारण गर्नेछ।