काठमाण्डौ । बचकर्ताको करिब २ करोड रुपैयाँअपचलन गरेको आरोप लागेपछि फरार अवस्थामा रहेका देउराली बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले चौलागाईंलाई गत असोज १६ गते पक्राउ गरेको हो ।

सहकारीका सञ्चालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाएर निक्षेप कर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई ठगि गरेको बचकर्ताको उजुरीको आधारमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।

मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको सावाँ/ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै ३३ जना बचतकर्ताले उनीविरूद्ध उजुरी दिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुले आफ्नो निक्षेप जोखिममा रहेको भन्दै संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराई दिनेतर्फ आवश्यक पहल नगरेको बताएका छन् ।

बचतकर्ताहरुको हालसम्म प्राप्त जाहेरी अनुसार ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।