काठमाण्डौ । देउराली बचत तथा ऋण सहकारी संस्थाबाट पैसा फिर्ता नपाएका निक्षेपकर्तालाई उजुरी गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आह्वान गरेको छ।

ब्यूरोले सो सहकारीका सञ्चालकहरू पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सीआईबीले सोमबार सूचना जारी गरी उजुरी गर्न भनेको हो। सीआईबीको सूचनामा देउराली बचत तथा ऋण सहकारी संस्था लि केन्द्रीय कार्यालय, सातदोबाटो, ललितपुर भई भक्तपुर र काठमाण्डौ जिल्लाभित्रका सहकारीका सेवा केन्द्रहरूका निक्षेपकर्ता सदस्यहरूले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि रकम फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरूले जाहेरी दरखास्त पेस गरेकामा  अनुसन्धान भइरहेकाले ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरूउपर प्रमाणसहित जाहेरी दि भनिएको छ।

सीआईबीले सो संस्थाका अध्यक्ष काभ्रेको चौंरी देउराली स्थायी घर भएका रवीन्द्र चौलागाईंलाई गत असोज १६ गते पक्राउ गरेको थियो। उनीमाथि सहकारी ठगीका साथै सांगठिक अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ ।

व्यवस्थापक दीपक केसी तथा कर्जा समिति संयोजक राजेन्द्र खत्री पनि हिरासतमा रहेका छन् । सञ्चालक समिति र कर्मचारीलाई प्रभावमा पारेर चौलागाईंले सहकारीमा संगठित रूपमा ठगी गरेको आधारमा सीआईबीले संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो।

संगठित अपराधमा अभियुक्तलाई प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ। सो ठगीमा धेरैजनाको मिलेमतो रहेको प्रहरी अधिकारी बताउँछन्।

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउरालीको काठमाण्डौको न्यूरोड र भक्तपुरको सूर्यविनायकमा शाखा कार्यालय छन्।