काठमाण्डौ । देशभर आज प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी रहेको छ।
मतदान प्रक्रियामा नेतादेखि सर्वसाधारणसम्मको उत्साहजनक सहभागिता रहेको देखिएको छ। केही ठाउँमा छिटफुट घटनाबाहेक सबैतिर शान्तिपूर्ण ढंगले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ओलीले भक्तपुर क्षेत्र नम्बर २ स्थित बालकोटको महेन्द्र शान्ति माविबाट अपरान्ह मतदान गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आवधिक निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठीक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार बिहान चितवनमा मतदान गरेपछि दाहालले आवधिक निर्वाचन हुनु महत्वपूर्ण कुरा भएको बताए।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्। अध्यक्ष नेपालले गृह जिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभूत माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन्। शर्माले आइतबार बिहान रुकुम पश्चिमबाट मतदान गरेका हुन्।
शर्माले मुसिकोट नगरपालिका ५ सेरिगाउँस्थित श्री यमुनानन्द नमुना माध्यामिक विद्यालयमा स्थापित मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनी रुकुम पश्चिमबाट माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डौ ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताए। काठमाडौ–४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको पनि सुनाए।
काठमाण्डौ १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमले थापाथलीको केन्द्रबाट मतदान गरेका छन्। अन्य उम्मेदवार प्रकाशमान सिंह र रवीन्द्र मिश्रको भने यो क्षेत्रमा नामावली छैन।
काठमाण्डौ क्षेत्र नं. ९ को प्रतिनिधिसभाका उम्मेदवार मिलन पाण्डेले नवयुग मावि ज्याबहालबाट मतदान गरेका छन्।
नेकपा एमाले मोरङ ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डितले महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन्। नेकपा एमालेबाट मोरङ ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले क्षेत्र नं. ६ मा पर्ने कोचाखाल अधारभूत विद्यालयबाट मतदान गरेका छन्।
त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुने बताएका छन्। आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेपछि उनले बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको बताए।
नेकपा एमालेका उपमहासचिव तथा लमजुङका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले लमजुङकै श्री बुद्धोदय माध्यामिक विद्यालयबाट मतदान गरेका छन्। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका–८ बलिथुमस्थित भारती सदन आधारभूत विद्यालय केन्द्र ‘क’ बाट मतदान गरेका छन्।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कालीकोटका प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्रबहाददुर शाहीले पचालझरना गाउँपालिका–९ को कालिकादेवी आधारभूत विद्यालयको केन्द्रबाट मतदान गरेका छन्।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगरस्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका छन्। झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ (२) स्थित मेचीनगर–९ मा रहेको कविशिरोमणि माविमा मतदान गरेका हुन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago