काठमाण्डौ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकारको एक वर्षको समय बर्बादी मात्र भएको टिप्पणी गरेको छ।
देउवा सरकारको एकवर्षे कार्यकालको समीक्षा गर्दै एमालले यस्तो टिप्पणी गरेको हो। ‘संविधानको गलत व्याख्या गरी एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको २०७९ असार २९ गते एक वर्ष पूरा भएको छ’, एमालेले भनेको छ, ‘यो सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, संघीय संसदमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधन, सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा यो सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको छ।’
संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल एमालेको दाबी छ। ‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षाजस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न सकेको छैन’, एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कोभिड १९ को महामारीलाई नियन्त्रण गर्नका लागि विश्व स्वास्थ्य संगठनले नेपाललगायतका देशलाई सन् २०२२ जुन महिनाको अन्तिम (असार १५) सम्ममा कुल जनसंख्या को ७० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाउनुपर्ने भनी दिएको लक्ष्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कमजोर व्यस्थापन र नेतृत्वका कारण, पर्याप्त खोप हुँदाहुदै पनि पूरा हुन नसकेको एमालेको भनाइ छ। ‘बरु पूर्ववर्ती केपी ओली सरकारका पालामा भएका सम्झौता बमोजिम प्राप्त करिब ५ करोड ८० लाख खोपको समुचित व्यवस्थापन मात्र गरेको भए दुई मात्रा खोप सबै नेपालीले पाउने थिए’, एमालेले भनेको छ, ‘तर कमजोर व्यस्थापन र नेतृत्वका कारण १० लाखमात्रा बढी खोपको मिति सकिएर फालिएको तीतो सत्य हाम्रासामु छ। पछिल्लो सूचनाअनुसार मन्त्रालयले थप २० लाख डोज खोप मिति सकिएर फाल्ने तयारी गरिरहेको भन्ने छ। प्रम शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको र ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने’ भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको छ।’
बालबालिकामा खोपको पहुँच अझै पनि अत्यन्तै न्यून रहेको एमालेको ठहर छ। ‘तेस्रो मात्रा (अतिरिक्त डोज) खोप प्राप्त गर्नेको संख्या २० प्रतिशतको हाराहारीमात्र छ’, एमालेले भनेको छ, ‘कर्णाली प्रदेशका सबै जिल्ला, खोटाङ, रौतहट, बझाङ, सिरहा, धनुुषा, सिन्धुली, उदयपुर, मोरङ र पाँचथरलगायतको जिल्लाहरुमा अझै पनि जनसंख्याको ४० प्रतिशतले खोप पाएका छैनन्। २७६ स्थानीय तहमा पनि ४० प्रतिशतले अझै खोप प्राप्त गर्नसकेका छैनन्।’
‘आव २०७८–७९ को जम्मा बजेट १६ खर्ब ३२ अर्बबाट (संशोधित) बढेर आव २०७९–८० मा १७ खर्ब ९३ अर्ब भएको छ, जुन लगभग १० प्रतिशत वृद्धि हो’, एमाले सचिव योगेश भट्टराईले भने, ‘स्वास्थ्यको संवैधानिक व्यवस्था र कोभिड–१९ को पूर्ण रुपमा खतरा नटरेको अवस्थामा गत आवमा स्वास्थ्य क्षेत्रमा रु. १५१ अर्व बजेट विनियोजन गरेकोमा आव २०७९–८० मा १२३ अर्वमा सीमित गरिएको छ। यो गत आवको तुलनामा लगभग १९ प्रतिशत कमी हो।’
बजेट व्यवस्थापनका दृष्टिले सरकार जनस्वास्थ्यको सवालमा कति उदासीन छ भन्ने यसबाट पनि प्रस्ट हुने एमालेले जनाएको छ। ‘प्रथम दृष्टिमै स्वास्थ्य क्षेत्रमा सरकार असफल छ भन्ने कुराको प्रमाण हो’, एमालेले भनेको छ।
संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago