काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानीकोष सञ्चालनमा ल्याउन लागेको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानीकोष नियमावली, २०६७ र सामूहिक लगानीकोष निर्देशिका, २०६९ लागू भएपछि नेपालमै पहिलो पटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेड रहेको छ भने योजना व्यबस्थापकमा एनआईबिएलएस क्यापिटल लिमिटेड रहेको छ । 

यस खुलामूखी योजनाबमोजिम जम्मा रु.५० करोड रुपैयां बराबरको ५ करोड इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त भएकोमा पहिलो चरणमा रु.१२ करोड ५० लाख रुपैयां बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिने तथा बीज पूंजीको रुपमा रकम रु.७ करोड ५० लाख रुपैयाँं बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले खरिद गर्नेछन् ।

यस खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढिमा २ लाख ५० हजार इकाईका लागि प्रतिइकाई रु.१०  का दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् । 

आवेदन दिनका लागि नेपाल राज्यभरको सम्पूर्ण ७७ जिल्लाहरुमा फैलिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएसीको मेरो शेयरबाट समेत दिन सकिनेछ । 

यस खुलामुखी योजनाको बिक्रीखुल्ला मिति २०७६ जेष्ठ १९ देखि गरिने योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी गराएको छ ।

यस योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ, जुन लगानीको व्यवस्थापन एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । 

हाल जारी भएका इकाईहरु बाँडफाँड भएको मितिले ३ महिना पछि मात्र खरिदबिक्रीका लागि खुल्ला हुनेछ । यसरी योजनाको इकाईहरु खरिद/बिक्रीे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा अन्य तोकिएको वितरण केन्द्रहरुबाट गर्न सकिनेछ ।