काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानीकोषको इकाईको बिक्री खुलाएको छ । 

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानीकोष नियमावली, २०६७ र सामूहिक लगानीकोष निर्देशिका, २०६९ लागू भएपछि नेपालमै पहिलो पटक यो खुलामुखी योजनाको इकाई निश्कासन भएको हो । 

यो योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेड रहेको छ भने योजना व्यबस्थापकमा एनआईबिएलएस क्यापिटल लिमिटेड रहेको छ।

यस खुलामूखी योजनाबमोजिम जम्मा रु.५ करोड रुपैयां बराबरको ५ करोड इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त भएकोमा पहिलो चरणमा रु.१२ करोड ५० लाख रुपैयां बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिएको हो । 

यस्तै, बीज पूंजीको रुपमा रकम रु.७ करोड ५० लाख रुपैयाँं बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले खरिद गर्नेछन् ।

यस खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढिमा २ लाख ५० हजार इकाईका लागि प्रतिइकाई रु. १०  का दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् । 

आवेदन दिनका लागि नेपाल राज्यभरको सम्पूर्ण ७७ जिल्लाहरुमा फैलिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएसीको मेरो शेयरबाट समेत दिन सकिनेछ । 

यस खुलामुखी योजनाको इकाई खरीदका लागि छिटोमा जेठ २२ गते र ढिलोमा असार १६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

यो म्युचुअल फण्ड एआइबिएल एस क्यापिटलको तेश्रो म्युचुअल फण्ड हो भने देशकै पहिलो खुल्लामुखी फण्ड हो । 

यस योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ, जुन लगानीको व्यवस्थापन एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । 

हाल जारी भएका इकाईहरु बाँडफाँड भएको मितिले ३ महिना पछि मात्र खरिदबिक्रीका लागि खुल्ला हुनेछ । यसरी योजनाको इकाईहरु खरिद बिक्री एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा अन्य तोकिएको वितरण केन्द्रहरुबाट गर्न सकिनेछ ।

के हो खुल्लामुखी स्किम ? 
योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समयसीमा नतोकी कुनै पनि समयमा लगानीकर्तालाई इकाई बिक्री गर्न सकिने गरी जारी गरिएको सामूहिक लगानी योजनालाई ‘खुलामुखी योजना’ भनिन्छ । 

यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजना इकाई बिक्री गर्न सक्नेछन् र लगानीकर्ताले इकाई बिक्री गर्न आएमा पुुनः खरीद पनि गरिदिन सक्नेछन् ।

अहिले एनआइबिएल एस क्यापिटलले ५० करोड रुपैयाँको स्किम संचालनको स्वीकृति पाएको हो । यसको आकार बढेसँगै त्यसका लागि पनि धितोपत्र बोर्डबाट स्वीकृति भने लिनुपर्नेछ । 

यस्ता योजनामा तरलता बढी हुन्छ । लगानीकर्ताले फण्ड म्यानेजरलाई नै तुरुन्त बिक्री गर्नसक्ने भएकोले बिक्रीबाट प्राप्त रकम पनि तुरुन्तै भुक्तानी पाइने एनआइबिएल एस क्यापिटलका सुवास पौडेलले जानकारी दिए । 

खुलामुखी योजना धितोपत्र बजारमा सूचीकृत नहुने भएकाले दोस्रो बजारमा कारोबार हुँदैन । खुलामुखी योजनाको इकाई ब्रोकरमार्फत खरीदबिक्री गर्न नपर्ने भएकोले कम झञ्झटिलो र कम खर्चिलो हुने समेत पौडेलले दाबी गरे । ‘फण्ड व्यवस्थापन वा उसले तोकेका कलेक्सन एजेन्टबाट नै खरीदबिक्री गर्न सकिन्छ ।’ पौडेलले बिजशालासँग भने। 

यस्तो फण्डको परिपक्व हुने अवधि हुन्न, अनन्तकालसम्म पनि जानसक्छ । पौडेलले भने–‘सेटलमेन्ट गर्न पनि झञ्झट भएन । समग्रमा यस्ता स्किममा लगानी गर्न सजिलो हुन्छ ।’ 

सम्बन्धित समाचारहरु :