काठमाण्डौ । देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण निकै कम देखिएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानीकोषको इकाईको बिक्री खुलाएकोमा पहिलो चरणमा आधा इकाई बिक्री हुन पनि हम्मे हम्मे परेको हो । 

असार १६ देखि आवेदन खुलेको यो स्किममा छिटोमा जेठ २२ गतेसम्ममा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । पहिलो चरणमा ८ हजार ५३५ आवेदकबाट ६ करोड रुपैयाँ बराबरको मात्र आवेदन परेको हो । 

पहिलो चरणमा यो स्किममा खासै राम्रो रेसपोन्स नआएपछि दोश्रो चरणका लागि असार १६ गतेसम्म आवेदन दिने समय खुल्ला गरिएको छ । 

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानीकोष नियमावली, २०६७ र सामूहिक लगानीकोष निर्देशिका, २०६९ लागू भएपछि नेपालमै पहिलो पटक यो खुलामुखी योजनाको इकाई निश्कासन भएको हो । 

यो योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेड रहेको छ भने योजना व्यबस्थापकमा एनआईबिएलएस क्यापिटल लिमिटेड रहेको छ।

यस खुलामूखी योजनाबमोजिम जम्मा रु.५० करोड रुपैयां बराबरको ५ करोड इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त भएकोमा पहिलो चरणमा रु.१२ करोड ५० लाख रुपैयां बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिएको हो । 

यस्तै, बीज पूंजीको रुपमा रकम रु.७ करोड ५० लाख रुपैयाँं बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले खरिद गर्नेछन् ।

यस खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढिमा २ लाख ५० हजार इकाईका लागि प्रतिइकाई रु. १०  का दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् । 

आवेदन दिनका लागि नेपाल राज्यभरको सम्पूर्ण ७७ जिल्लाहरुमा फैलिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएसीको मेरो शेयरबाट समेत दिन सकिनेछ । 

यो म्युचुअल फण्ड एआइबिएल एस क्यापिटलको तेश्रो म्युचुअल फण्ड हो भने देशकै पहिलो खुल्लामुखी फण्ड हो । 

यस योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ, जुन लगानीको व्यवस्थापन एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । 

हाल जारी भएका इकाईहरु बाँडफाँड भएको मितिले ३ महिना पछि मात्र खरिदबिक्रीका लागि खुल्ला हुनेछ । यसरी योजनाको इकाईहरु खरिद बिक्री एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा अन्य तोकिएको वितरण केन्द्रहरुबाट गर्न सकिनेछ ।

के हो खुल्लामुखी स्किम ? 
योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समयसीमा नतोकी कुनै पनि समयमा लगानीकर्तालाई इकाई बिक्री गर्न सकिने गरी जारी गरिएको सामूहिक लगानी योजनालाई ‘खुलामुखी योजना’ भनिन्छ । 

यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजना इकाई बिक्री गर्न सक्नेछन् र लगानीकर्ताले इकाई बिक्री गर्न आएमा पुुनः खरीद पनि गरिदिन सक्नेछन् ।

अहिले एनआइबिएल एस क्यापिटलले ५० करोड रुपैयाँको स्किम संचालनको स्वीकृति पाएको हो । यसको आकार बढेसँगै त्यसका लागि पनि धितोपत्र बोर्डबाट स्वीकृति भने लिनुपर्नेछ । 

यस्ता योजनामा तरलता बढी हुन्छ । लगानीकर्ताले फण्ड म्यानेजरलाई नै तुरुन्त बिक्री गर्नसक्ने भएकोले बिक्रीबाट प्राप्त रकम पनि तुरुन्तै भुक्तानी पाइने एनआइबिएल एस क्यापिटलका सुवास पौडेलले जानकारी दिए । 

खुलामुखी योजना धितोपत्र बजारमा सूचीकृत नहुने भएकाले दोस्रो बजारमा कारोबार हुँदैन । खुलामुखी योजनाको इकाई ब्रोकरमार्फत खरीदबिक्री गर्न नपर्ने भएकोले कम झञ्झटिलो र कम खर्चिलो हुने समेत पौडेलले दाबी गरे । ‘फण्ड व्यवस्थापन वा उसले तोकेका कलेक्सन एजेन्टबाट नै खरीदबिक्री गर्न सकिन्छ ।’ पौडेलले बिजशालासँग भने। 

यस्तो फण्डको परिपक्व हुने अवधि हुन्न, अनन्तकालसम्म पनि जानसक्छ । पौडेलले भने–‘सेटलमेन्ट गर्न पनि झञ्झट भएन । समग्रमा यस्ता स्किममा लगानी गर्न सजिलो हुन्छ ।’