काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको आर्थिक उत्थान र विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
राष्ट्रपतिको कार्यालय शितलनिवासमा बुधबार भक्तपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु सम्मिलित टोलीसँग भेटमा राष्ट्रपति पौडेलले देशमा विद्यमान आर्थिक अवस्थाप्रति सबैले गम्भीर हुनुपर्नेमा पनि जोड दिए। ‘विगतमा घटेका दुई–तीनवटा घटनाका कारण देशको आर्थिक अवस्थामा समस्या देखिएको हो’, उनले भने, ‘कोभिड महामारी, विश्वमा देखिएको आर्थिक मन्दी, रुस–युक्रेनबीचको युद्धका कारण विश्वमै महँगी बढ्यो, जसका कारण नेपालमा पनि त्यसको प्रभाव परेको हो।’
राष्ट्रपति पौडेलले देशमा व्याप्त विद्यमान आर्थिक समस्या सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए। उद्योगी–व्यवसायीहरु अहिले ठूलो मारमा रहेको भन्दै उनले निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि नेपाल सरकारलाई सुझाव दिँदै आएको स्पष्ट पारे।
राष्ट्रपति पौडेलले देशलाई सही दिशामा डोर्याउन तथा सुशासनका लागि निजी क्षेत्रसँगै सबैले आआफ्नो ठाउँबाट नेपाल सरकारलाई दबाब दिइरहनुपर्ने बताए। राष्ट्रिय एकता, साम्प्रदायिक एकता, क्षेत्रीय एकतालाई जोगाइरहनुपर्नेमा जोड दिँदै उनले देश अस्थिरतातर्फ फस्न नदिन राजनीतिक स्थायित्व कायम हुनुपर्ने बताए।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले पछिल्लो समय देशको अर्थतन्त्रमा आएको मन्दीका कारण धेरैजसो उद्योगी, व्यवसायीहरु आफ्नो उत्पादन कटौती र उद्योग, व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए। उनले उच्च बैंक ब्याजदर र जनताको क्रयशक्तिमा आएको कमीका कारण समग्र बजार माग घट्न गई व्यवसायीहरु न्यूनतम लागत खर्च उठाउन पनि नसक्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे। ‘यस्तो गम्भीर आर्थिक मन्दीको अवस्थाबाट समुन्नति र समृद्धितर्फ अर्थतन्त्रलाई डोर्याउन आवश्यक मौद्रिक नीति तथा वित्तीय उपायहरु तत्काल अवलम्बन गर्न हामी उद्योगी–व्यवसायी सरकारसँग माग गर्दछौँ’, उनले भने।
राष्ट्रपति पौडेलसँगको भेटको क्रममा अध्यक्ष मानन्धरले भक्तपुर जिल्लाका सम्पूर्ण उद्योगी–व्यवसायीका तर्फबाट जिल्लाको आर्थिक एवं सामाजिक विकासमा महत्व राख्ने केही महत्वपूर्ण योजनाप्रति नेपाल सरकारको ध्यानाकर्षणसमेत गराए। उनले भक्तपुर जिल्लाको पर्यटन विकासका लागि पर्यटन पूर्वाधार क्षेत्रमा बढीभन्दा बढी लगानी गर्न, कृषिउपज बजारीकरणका लागि जिल्लामा व्यवस्थित फलफूल तथा तरकारी बजारको स्थापना गर्न, जिल्लाको घरेलु तथा हस्तकला उद्योगको विकासका लागि जिल्लाभित्र सुविधासम्पन्न हस्तकला ग्राम र कोशेली घर निर्माण गर्न सरकारसँग माग गरे।
उनले जिल्लाको मात्र नभई मुलुककै शैक्षिक विकासमा दूरगामी प्रभाव पार्ने प्रस्तावित ख्वपः विश्वविद्यालय स्वीकृति दिनुपर्नेमा सरकारको ध्यानाकर्षणसमेत गराए।
भेटका अवसरमा राष्ट्रपति पौडेललाई भक्तपुर जिल्लाका उद्योगी–व्यवसायीका तर्फबाट संघले मायाको चिनोस्वरुप मयूर झ्याल प्रदान गरेको छ। अध्यक्ष मानन्धरले राष्ट्रपति पौडेललाई मयूर झ्याल, भादगाउँले टोपी र जुजु धौ प्रदान गरेका थिए।
यसैगरी संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले विगतमा संघले प्रकाशित गरेको स्मारिका तथा पूर्वअध्यक्ष एवं सल्लाहकार युवक राजभण्डारीले संघको स्मारिका तथा उद्योगी–व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिताबारे उल्लेख गरिएको ब्रोसर राष्ट्रपति पौडेललाई हस्तान्तरण गरिन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago