काठमाण्डौ । कोरोना संक्रमणको मामिला बढ्न सक्ने भन्दै सरकारले उपचारका लागि तयारी अवस्थामा रहन देशभरका अस्पतालहरुलाई आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेशवर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी गराएका हुन्। कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब) लाई पनि तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ। 

मन्त्रालयले सरकारी अस्पतालहरुमा २ हजार वटा एचडीयू बेड स्थापना गर्ने निर्णय गर्नुका साथै सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि आग्रह गरेको छ।

त्यस्तै २०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गर्न सहयोग गर्ने पनि बैठकले निर्णय गरेको छ। 

प्रवक्ता गौतमले आइएसीएसले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न अनुरोध गरेको पनि जानकारी दिए।