काठमाण्डौ । देशमा कोरोना संक्रमितको संख्या फेरि दैनिकजसो उकालो लाग्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार १ जनाको पीसीआर–आरटी परीक्षण गर्दा १ हजार २२७ जनामा र ५४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ।

यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै ६३४ जना कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना छन्।

हाल सक्रिय संक्रमितको संख्या ७ हजार २५४ रहेको छ। तीमध्ये ८१ जना क्वारेन्टिनमा छन्। 

पछिल्लो २४ घन्टामा २५५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या हालसम्म २ लाख ७५ हजार ५५५ पुगेको छ। 
यो अवधिमा देशभर थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार ९१ पुगेको छ। 

कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेपछि आज बसेको मन्त्रिपरिषद बैंकले सहरी क्षेत्रका विद्यालयहरु बन्द गरी अनलाइन माध्यमबाट पठनपाठन गराउन निर्देशन दिइसकेको छ भने सर्वाजनिक स्थलमा ५ जनाभन्दा बढी भेला नहुन भनिसकेको छ।