काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ।
आज बजार १२.०५ अंकले उकालो लाग्दै नयाँ उचाइमा पुगेको हो। योसँगै नेप्से परिसूचक ३१२३.१५ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि हिजो नेप्से बनाएको नयाँ उचाइको कीर्तिमान भंग भएको छ। हिजो नेप्से ३१११.०९ को विन्दुमा उक्लिएको थियो।
यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७० अंकले बढेर ५७८.२२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम साढे १५ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार बढ्नुको मुख्य कारण चौतर्फी रुपमा महौल सकारात्मक रहनु नै रहेको बताउँछन्। सूचीकृत कम्पनीहरुका चौथो त्रैमास रिपोर्टहरु राम्रो आउनु, बैंकको ब्याजदर एकल विन्दुमा रहन, ब्याजदर तत्काल बढ्ने सम्भावना नरहनु आदि कारणले पनि बजार सकारात्मक ढंगले अगाडि बढिरहेको बताउँछन्। ‘बैंकहरुको चौथो त्रैमासको रिपोर्ट राम्रै आउनेछ’, उनले भने।
अहिले कोभिडको अवस्थामा अन्य क्षेत्रमा लगानी स्थिति नरहेका कारण लगानीकर्ताहरु आकर्षण सेयर बजारमा बढेको रौनियार बताउँछन्। ‘अहिले सेयर बजारमा अनलाइन प्रणालीबाटै सहज ढंगले कारोबार गर्न सकिन्छ’, उनले भने, ‘देशविदेशबाट सेयर बजारमा सक्रिय रुपमा कारोबार भइरहेको छ।’
रौनियाले आज नेप्से दैनिक नयाँ कीर्तिमान बनाइरहेको अवस्थामा अब छिटै कारोबार रकमले पनि २० अर्बमाथि हुने सम्भावना रहेको बताउँछन्। ‘सरकार पनि पुँजी बजारप्रति सकारात्मक रहनु र मौद्रिक नीतिमा पुँजी बजारलाई खासै प्रभाव पार्ने खालका नीति नआउने सम्भावना रहेकोले लगानीकर्ताहरु हौसिएका छन्’, उनले भने, ‘यिनै कारणले बजारले थप उचाइ लिने लगभग पक्का छ।’
लगानीकर्ताहरुले राम्रो प्रतिफल दिने र बलिया कम्पनीमा लगानी गरिरहेको बताउँछन्। ‘बुलिस बजारमा यस्तै कम्पनीहरुमा लगानी गर्दा भविष्यमा राम्रै कमाइ हुने हो’, उनले भने।
जलविद्युतमा अझै केही दिन आकर्षण देखिन सक्ने पनि रौनियारको भनाइ छ। ‘जलविद्युतलाई ब्याजको ऋण तिर्न हकप्रद निष्कासन गर्न दिने भनिएको छ, यसले गर्दा पनि लगानीकर्ता जलविद्युतमा आकर्षित भएका छन्’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ५.८१ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.६५ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२० प्रतिशत, विकास बैंक समूहमा १.३४ प्रतिशत, लगानी समूहमा ०.२६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.४५ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन लघुवित्त समूहमा सर्वाधिक २.१० प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.४४ प्रतिशतले घटेको आज होटेल तथा पर्यटन समूहमा ०.२० प्रतिशत, जीवन बीमा समूहमा ०.०२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५४ प्रतिशत र अन्य समूहमा ०.९० प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूूचीकृतमध्ये २२५ कम्पनीका २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१.०४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अपी पावरको सर्वाधिक ७९ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ५६ करोड ७२ लाख रुपैयाँबराबरको कारोबार भएको आज सानिमा माई हाइड्रोपावरको ५० करोड ३४ लाख रुपैयाँ, अरुण काबेली पावरको ४१ करोड ५५ लाख रुपैयाँ, छिमेक लघुवित्तको ४० करोड ८९ लाख रुपैयाँ, युनिभर्सल पावरको ३३ करोड ८८ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको ३३ करोड ८१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३१ करोड ९९ लाख रुपैयाँ, सान्जेन जलविद्युतको २८ करोड २७ लाख रुपैयाँ र निफ्राको २७ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। अपी पावर, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, कालिका पावर, माथिल्ला तामाकोशी, घलेम्दी हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा जीवन विकास लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, सान्जेन जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन आँखुखोला जलविद्युतको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन ङादी ग्रुप पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19