काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारले नयाँ उचाइ चुम्ने क्रमले निरन्तरता पाएको छ।
आज बजार १६.४१ अंकले बढेर ३१७९ को विन्दुमा उक्लिएको छ। यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च विन्दुमा हो। योसँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान पनि भंग भएको छ।
आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले बढेर ५९१.१६ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि साढे १७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला पछिल्ला केही दिनको बढाइ सेयर बजार मजबुत बन्दै गएको देखिएको बताउँछन्। ‘अहिले सेक्टरवाइज चलेको देखिन्छ, यसले लगानीकर्ताको सहभागिता र मनोबल बढ्दै गएको प्रस्ट देखिन्छ’, उनले भने।
कोरोना संक्रमण दर बढ्दै जानु र लगानीका अन्य क्षेत्रमा संकुचन हुनुले सेयर बजार बढ्नलाई टेवा पुगेको बास्तोलाको भनाइ छ। ‘समग्रमा बजार बुलिस नै छ’, उनले भने, ‘अब बजार ३२०० को विन्दुमा पुगेपछि करेक्सन आउने सम्भावना छ, करेक्सनले बजार थप मजबुत हुनेछ।’
बुलिस बजारमा जोखिम पनि बढ्दै गएकोले लगानीकर्ताहरुले सोचविचार गरेरमात्र लगानी गर्नुपर्ने बास्तोलाको सुझाव छ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएकोले बजार सकारात्मक ढंगले बढिरहेको मान्न सकिने बताउँछिन्। ‘बजारको विकास र विस्तार भएको छ, अर्थमन्त्री पनि बजारप्रति सकारात्मक नै छन्’, उनले भनिन्, ‘मौद्रिक नीति पनि बजारअनुकूल नै आउने देखिन्छ। बैंक ब्याजदर पनि न्यून छ। सबैतिरबाट बजार सकारात्मक नै छ।’
लाभांश घोषणाको समय भएकोले पनि लगानीकर्ताहरुले उच्च प्रतिफल दिन सक्ने र सुरक्षित कम्पनी लगानी गर्दा उचित हुने पोखरेलको सुझाव छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ६.३७ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.४८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.४२ प्रतिशत, वित्त समूहमा १.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा १.४७ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन व्यापार समूह सर्वाधिक १.५१ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १ प्रतिशतले घटेको आज जलविद्युत समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०८ प्रतिशत, अन्य समूहमा ०.४३ प्रतिशत र लघुवित्त समूहमा ०.१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ६२ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँ, एचआईडीसीएलको ४४ करोड रुपैयाँ, गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँ, अपी पावरको ४१ करोड ५४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४० करोड ६९ लाख रुपैयाँ, अरुण काबेली पावरको ४० करोड ३७ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४० करोड २४ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन पाँचथर पावर, ओरियन्ट होटेल, सारथी नेपाल लघुवित्त र तारागाउँ रिजेन्सी होटेलका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19