काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन २५ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने यो आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।  

कम्पनीले गत फागुन ८ गतेदेखि आयोजना प्रभावित र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमिकले आज बैंकिङ समसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि भने आवेदन दिने म्याद आउँदो चैत ७ गतेसम्म थप गरिएको छ। 

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ लाख ९ हजार ४५८ कित्ता साधारण सेयरमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ५ लाख ३६ हजार ४८६ कित्ता आईपीओ अतिआयोजना प्रभावित क्षेत्र दैलेखको नौमूले र कालिका गाविसका स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता तथ आयोजना प्रभावित नौमूले र कालिका गाविसकाबाहेक अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता बिक्री खुला गरेको छ । 

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको २० प्रतिशतले हुन आउने कुल सेयरको १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता निष्कासन गरेको छ। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले आयोजना रहेको कार्यालय दैलेखको नौमूले, एनआईसी एसिया बैंकको नयाँबजार शाखा, ग्लोबल आइएमई बैंकको देवकोटा चोक शाखा र प्रभु बैंकको देवेन्द्रचोक शाखाबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।