काठमाण्डौ । दोल्ती पावर कम्पनीको आईपीओ निष्कासनको पहिलो दिनै २ गुणा बढीले ओभर सब्सक्राइब्ड भएको छ।

कम्पनीले आज चैत २८ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्तामा बिक्री खुला गरेको छ। यसअघि सर्वसाधारणलाई जारी हुनेमध्ये १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ भने ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।  

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २ लाख ५३ हजार ५५६ आवेदकबाट २८ लाख ३६ हजार ७१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.२३ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी १ लाख २७ हजार १८६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा आउँदो वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ। 

दोल्ती पावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।