काठमाण्डौ । दोश्रो बजारबाट धेरै लगानीकर्ता गायब भएका छन् । केही सार्वजनिक निश्कासनको खरीदमा केन्द्रीत छन् भने केही पर्ख र हेरको रणनीतिमा बसेका छन् । केही भने नयाँ सरकार बन्ने, अवस्था केही सहज भई लगानीयोग्य रकम पर्याप्त भएपछि सस्तो दरमा बैंकबाट कर्जा लिएर बजारमा लगानी गर्ने दाउमा छन् । 

पछिल्लो समय बजारमा सुधार हुनको साटो निरन्तर गिरावट देखिन थालेपछि यसले समेत बजारबाट धेरैलाई बिमुख गराएको छ । यस्तै, लामो समयसम्म पनि सेयर कारोबारमा भ्याट लाग्ने बिषय, पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनको बिषय नटुंगिदा समेत दोश्रो  बजारप्रति लगानीकर्ताको मोह भंग हुँदै गएको छ । दोश्रो बजारमा गरिएको लगानी एकपछि अर्को गर्दै जोखिममा पर्न थालेपछि पछिल्लो समय कतिपय लगानीकर्ता सेयर बेचेर बजारबाटै पलायन भइरहेका चर्चा समेत हुन थालेको छ । 

अर्कोतर्फ, यसअघि कालोधनलाई समेत सेतो बनाउन कतिपयले निर्धक्कसँग दोश्रो बजारमा लगानी गरिरहेको अवस्थामा धिोपत्र बोर्डले अंकुश लगाइदिएपछि त्यस्ता ठूला लगानीकर्ता समेत सेयर बेचर बजारबाट भागेका बताइन्छ । यी विविध कारणले पछिल्लो समय बजारमा लगानीकर्ताहरु घट्दै गएका देखिएको छ । यहीकारण समेत कारोबार रकम निकै कम हुन थालेको छ । 

बुधबार पनि बजारमा यस्तै प्रवृति देखियो । नेप्से परिसूचक १.६९ अंकले बढे पनि कारोबार रकम भने घटेर २६ करोडमा सीमित बन्न पुगेको छ । 

यो दिन तीन समूहको सूचक घटे पनि बाँकी सबै समूहको सूचकमा बढोत्तरी भएको छ । उत्पादनमूलक समूह २६.२ अंकले घटेको छ भने माइक्रोफाइनान्स समूह २.६२ र बित्त समूह ०.७ अंकले घटेको छ । 

बैकिंग समूह ०.३२ अंकले बढेको छ भने बिमा समूह १६.१३ अंक, व्यापारिक समूह ४.२२, होटल समूह १४.७७, विकास बैंक ७.८२, जलविद्युत समूह ३.१३ अंक, बिमा समूह १६.१३ र अन्य समूह ५.०८ अंकले बढेका छन् ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.१९ अंकले बढेको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका ९ लाख ३८ हजार ३ सय ८ कित्ता सेयर २६ करोड १५ लाख २५ हजार ५ सय ५३ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन नेपाल फाइनान्स लिमीटेडको ३ करोड ५४ लाख बढीको संस्थापक सेयरको किनबेच भयो । यस्तै, नबील बैंकले १ करोड ९८ लाख, बुटवल पावर कम्पनीले १ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्डले ९३ लाख, प्रभू बैंकले ८० लाख, यूनाइटेड इन्स्योरेन्सले ६३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ५.६४  प्रतिशतको वृद्धि भयो । यस्तै, सिन्धु विकास बैंकको मूल्यमा समेत ५  प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

हिमालयन डिस्टीलरीले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।